जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरूको मनपरीमा अंकुश लगाउँदै हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन नगर्न कडा निर्देशन जारी गरेको छ। नगर कार्यपालिकाको कार्यालयबाट औपचारिक पत्र जारी गर्दै उपमहानगरले अबदेखि पूर्व स्वीकृति बिना कुनै पनि विद्यालयले पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने स्पष्ट पारेको हो।
पछिल्ला वर्षहरूमा विद्यालयहरूले बारम्बार पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकमाथि अनावश्यक आर्थिक भार परेको गुनासो बढ्दै गएपछि उपमहानगरले यस्तो कदम चालेको जनाएको छ। एउटै विषयका पुस्तकहरू वर्षेनी फेरिने प्रवृत्तिका कारण पुराना पुस्तक पुनः प्रयोग गर्न नसकिने अवस्था बनेको र यसले विशेषगरी मध्यम तथा न्यून आय भएका परिवारलाई थप मार परेको तथ्य उपमहानगरको ध्यानाकर्षणमा परेको थियो।
नगर प्रमुख राजन पौडेलको निर्देशनमा लागू गरिएको यो व्यवस्था अनुसार अब पाठ्यक्रम परिवर्तन वा अन्य अपरिहार्य कारणबाहेक पुस्तक परिवर्तन गर्न पाइने छैन। यदि परिवर्तन आवश्यक परेमा त्यसको ठोस कारणसहित उपमहानगरपालिकाबाट अनिवार्य स्वीकृति लिनुपर्नेछ।
निर्देशनको प्रभावकारी कार्यान्वयनका लागि शिक्षा महाशाखामार्फत नियमित अनुगमनलाई तीव्र बनाइने जनाइएको छ। अनुगमनका क्रममा निर्देश उल्लंघन गर्ने विद्यालयमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।
उपमहानगरको यो निर्णयले अभिभावकहरूको आर्थिक भार घटाउने, शैक्षिक क्षेत्रमा अनावश्यक खर्च नियन्त्रण गर्ने र पाठ्यपुस्तकमा एकरूपता कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। स्थानीय अभिभावक संजय यादवले यस कदमको स्वागत गर्दै यसले शिक्षामा अनुशासन र पारदर्शिता बढाउने विश्वास व्यक्त गरे ।

