धिरेन्द्र पनुहर/
बाराको तामागढी–सिम्रौनगढ सडक निर्माण भएको झण्डै ३ वर्ष भन्दा पनि बढी भईसकेको छ । झण्डै ४० किलोमिटर सडक निर्माण भएको यति लामो समय भएपनि सडकमा जग्गा पर्नेहरुले भने हालसम्म मुआब्जा भने पाउन सकेका छैनन्।
तामागढी–सिम्रौनगढ सडक दायाँबायाँबाट १५÷१५ मिटर अधिग्रहण गरी सडक निर्माण भएको हो । संघीय सरकारअन्तर्गत हुलाकी मार्ग आयोजना वीरगन्ज कार्यालयको कार्यक्षेत्रभित्र पर्ने यो सडकले दक्षिणमा दसगजादेखि बीचमा हुलाकी मार्ग हुँदै उत्तरमा पूर्व–पश्चिम राजमार्ग तथा निजगढ–काठमाडौं द्रुतमार्गलाई छुएको छ ।
यो सडकले सिम्रौनगढ नगरपालिका,कोल्हवी नगरपालिका र बारागढी गाउँपालिका र आदर्श कोतवाल गाउँपालिका गरी ४ पालिकालाई छोएको छ । आफ्नो जग्गाको मुआब्जा पाउने जग्गा धनीहरुले भने पटक पटक आन्दोलन गर्दै आउनु परेको छ ।
जग्गाधनीहरू पटक–पटक विभिन्न निकाय धाउँदै, आन्दोलन र छलफल गर्दै हिड्न बाध्य भएका छन । झण्डै ३ वर्ष भन्दा बढि समय बितिसकेको ‘कहिले नारा–जुलुस त कहिले छलफल गर्दै हैरान छौं,’ तर हालसम्म मुआब्जा पाउन नसकेको कोल्हवी–९ का जग्गधनी रामानन्द चौत्ररीले गुनासो गरेका छन ।
‘कहिले सांसद त कहिले मेयर त कहिले मन्त्रालय गुहार्दै छौं, कसैले सुनेका छैनन । सडक त बन्न दियौं तर हालसम्म सरकारले दिन्छु भनेको रकम नै नदिएको तामागढी सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराका अध्यक्ष रामबाबु साहको भनाई छ ।
मुआब्जाका लागि संघर्ष समितिले विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ । उक्त सडकमा ७० बिघा जग्गा परेको र एक हजार ५ सय किसान मुआब्जा पिडित रहेकोले माग पुरा नभएसम्म कडा आन्दोलन गर्दै अध्यक्ष साहले बताए ।
जग्गाको माआब्जाबापत २ अर्ब ९७ करोड ७८ लाख ४० हजार ६ सय २५ रुपैयाँले स्थानीयले पाउन बाँकी छ । जग्गा दिएर सडक निर्माण भई फेरी सडक भत्किन थालिसक्दा समेत जग्गाधनीले अझै मुआब्जा नपाएकोमा पीडित आक्रोशित बनेका छन ।
उक्त तामागढी– सिम्रौनगढ हुलाकी मार्गमा अधिग्रहण भएको जमिनको मुआब्जाको लागि सरकारले १० करोड ३० लाख रुपैयाँ विनियोजन गरेको थियो । आर्थिक वर्ष २०८०÷०८१ मा हुलाकी राजमार्ग योजना कार्यालय पर्सा वीरगञ्जमार्फत वितरण गर्ने गरी रकम विनियोजन भएको हो ।
तर हालसम्म जग्गाधनीहरुले मुआब्जा नपाएपछि सुकुम्बासी हुने चिन्ताले जग्गाधनीहरुलाई सताईरहेको एक पिडित जग्गाधनीले दुखेसो गरेका छन ।


