बारा प्रहरीले ५२ लाख २५ हजार बराबरको अबैध समानसहित मिनि ट्रकलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले जिल्लाको विभिन्न स्थानमा गाडिहरूलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त सामानहरु सहित मिनि ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
बिल भरपाई भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू.५२ लाख २५ हजरा ३ सय ७३ रूपैया बराबरको सामान रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर २१ अमलेखगंज स्थित वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ७ ख ८२१९ र ना ७ ख ६५६४ नं.को मिनि ट्रकमा लोड रहेको स्पेयर पार्ट्स अन्दाजी मुल्य रू.४७ लाख १९ हजार १ सय २३ रूपैया बराबरको समानसहित उक्त मिनि ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै महोत्तरीबाट चितवन तर्फ जादै गरेको ग.२ ख.५६३ नं.को मिनि ट्रकमा लोड रहेको २ सय २५ बोरा प्याज अन्दाजी १० हजार १ सय २५ किलो अन्दाजी मुल्य रू.५ लाख ६ हजार २ सय ५० रूपैया बराबरको बिल भरपाई नभएको सामान प्रहरीले बरामद गरेको छ ।
समानहरू सहित मिनि ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

