रौतहट,ओम प्रकाश यादव/ चौतर्फी विरोध भएपछि बल्ल सरकारले रौतहटको पाँच वटा पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको पालिकाहरुको नाम नेपाल राजपत्रमा प्रकाशित समेत भएको छ।
बाढीले अति प्रभावित रौतहटको गढीमाई नगरपालिका,दुर्गा भगवती गाउँपालिका,राजपुर नगरपालिका,राजदेवी नगरपालिका र परोहा नगरपालिकालाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
यसअघि सरकारले १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दा रौतहटको कुनै पनि पालिकालाई नगरेको भन्दै सरकारको चौतर्फी विरोध भएको थियो ।
बाढीले रौतहट समेत प्रभावित भएपनि सरकारले रौतहट लाई विपद् संकटग्रस्त घोषणा नगरेको भन्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साह सहितका राजनीतिक दलका नेताले सरकारको कडा विरोध गरेपछि बल्ल सरकारले जिल्लाको पाँचवटा पालिकालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

