सीमा अतिक्रमणको विरुद्धमा फ्र्याङ्कफर्टस्थित भारतीय वाणिज्य दूतावासमा विरोध पत्र बुझाइयो

साझेदारी दैनिक
633 पाठक संख्या
जर्मनीमा क्रियाशील नेपाली सङ्घसंस्थाले भारतले नेपाली भूमिक अतिक्रमण गरी सडक पूर्वाधार निर्माण गरेको विरोधमा फ्र्याङ्कफर्टस्थित भारतीय वाणिज्य दूतावासमा विरोध पत्र बुझाएका छन् ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), प्रवासी नेपाली एकता मञ्च, नेपाली जनसम्पर्क समिति र नेपाली जनप्रगतिशील मोर्चा जर्मनीका तर्फबाट शुक्रबार संयुक्त विरोध पत्र भारतीय दूतावासमा बुझाइएको हो । मञ्चका महासचिव शम्भुप्रसाद पोखरेलले सो विरोध पत्र दूतावासका प्रतिनिधिलाई बुझाउनुभएको हो ।
यसअघि जर्मनीमा क्रियाशील प्रवासी नेपालीका सङ्घसंस्थाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि रहेको ऐतिहासिक तथ्य, दस्तावेज, प्रमाण तथा सन्धिले प्रमाणित गरे पनि सो क्षेत्रमा भारतले अवैधरुपमा सडक पूर्वाधार बनाएको भन्दै भत्र्सना गरेका थिए ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रियाले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा अष्ट्रियाको भियानास्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएको थियो । सङ्घले सबै मुलुकमा रहेका समितिमार्फत सम्बन्धित मुलुकमा रहेको भारतीय दूतावासमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएको व्यवहोरासहितको ज्ञापनपत्र बुझाउन निर्देशन दिएको थियो ।
यसैबीच सङ्घले भारतले गरेको नेपाली भूमि अतिक्रमणका विरुद्ध हस्ताक्षर सङ्कलन अभियान शुरु गरेको छ । लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विरोधमा विश्वभर छरिएर रहेका नेपालीले भारतलाई दबाब दिन हस्ताक्षर सङ्कलन गर्न लागेका हुन् । हस्ताक्षर अभियान शुक्रबारदेखि शुरु भएको छ ।
विश्वभरबाट सङ्कलन गरिएको हस्ताक्षर यही जेठ २३ गते काठमाडौँस्थित भारतीय दूतावासमा बुझाइने सङ्घले जनाएको छ । यही जेठ १८ गतेसम्म अनलाइनबाट हस्ताक्षर गर्न सकिनेछ । सङ्कलन गरिएको हस्ताक्षर जेठ १७ गते सम्बन्धित मुलुकमा रहेको भारतीय दूतावास, मिसन तथा सम्बन्धित निकायमा बुझाइने सङ्घको सूचना सञ्चार तथा प्रशासन समितिले जनाएको छ ।(रासस) 
Leave a review

This will close in 0 seconds