वीरगञ्ज भन्सार नाकाबाट मोटरसाईकल आयातमा दोब्बरले वृद्धि

राम मण्डल
357 पाठक संख्या

पर्सा । देशको प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार नाकाबाट मोटरसाइकल आयातमा दोब्बरले वृद्धि भएको छ ।

चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो महिनामा मोटरसाईकल आयात दोब्बरले बढेको हो ।

चालु आवको साउन महिनामा बितेको आवको सोही महिनाको तुलनामा मोटरसाईकल आयात दोब्बरले बढेको छ ।चालु आवको साउनमा वीरगञ्ज भन्सार नाका भएर ९४ करोड ४८ लाख ६६ हजार बराबरको सात हजार १५० वटा मोटरसाईकल आयात भएको छ ।

जबकि बितेको आवको यही महिनामा ४६ करोड ७७ लाख ९१ हजार बराबरको तीन हजार ५७१ वटा मात्रै मोटरसाईकल आयात भएको थियो ।यो चालु आवको साउन महिनामा वीरगञ्ज भन्सार नाका भएर भएको मोटरसाईकल आयातको दोब्बर सँख्या रहेको तथ्यले पुष्टि गरेको हो ।

मोटरसाईकल आयात साउन महिनामा बितेको आवको साउन भन्दा शत प्रतिशतले बृद्धि भएको हो ।दशैं आउन लागेको हुनाले साउन महिनामा मोटरसाईकलको आयातमा बृद्धि भएको हुन सक्ने वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले अनुमान गरे। दशैंमा मोटरसाईकलको बजारमा बढी बिक्री हुने तथा एक्सेन्ज पनि हुने भएकाले त्यस अघि मोटरसाईकलको आयात बढेको उनले बताए ।

मोटरसाईकलको आयात बढेपछि यसबाट भन्सारले उठाउने राजश्व समेत बृद्धि भएको छ ।चालु आवको साउनमा मोटरसाईकल आयातबाट वीरगञ्ज भन्सारले ८८ करोड ६४ लाख ७ हजार राजश्व संकलन गरेको छ ।

जबकि बितेको आवको यही महिनामा मोटरसाईकलको आयातबाट ४४ करोड २१ लाख एक हजार राजश्व संकलन गरेको थियो ।वीरगञ्ज भन्सारले उठाउने कुल राजश्वको सात प्रतिशत राजश्व मोटरसाईकल आयातबाट नै उठेको भन्सारको तथ्यांक रहेकोे छ ।

यसैगरी वीरगञ्ज भन्सारबाट साउन महिनामा ईलेक्ट्रिक जिप कार र भ्यानको आयातमा पनि बृद्धि भएको छ ।साउनमा यो नाका भएर तीन करोड तीन लाख २५ हजार बराबरको २७ वटा यस्ता सवारी साधनहरु आयात भएका छन् ।

जबकि बितेको आवको यही महिनामा ६ करोड ८२ लाख ९४ हजार बराबरको २४ वटा ईलेक्ट्रिक जिप कार र भ्यानको आयात भएको थियो ।

वीरगञ्ज भन्सार नाका भएर सवारी साधनहरुमा मुख्य रुपमा मोटरसाईकल,जिप,कार भ्यान,बस र ट्रक को चेसिस,पिकअप तथा डेलिभरी भ्यान,ट्रक,मिनी ट्रक,ईलेक्ट्रिक जीप कार र भ्यानहरु मुख्य रुपमा आयात हुदै आएको छ ।

सबै भन्दा बढी मोटरसाईकल नै साउन महिनामा आयात भएको छ ।

Leave a review

This will close in 0 seconds