समाचार सामाग्रीमा प्रशासनको हस्तक्षेपको नेपाल पत्रकार महासंघ पर्साद्वारा विरोध

संदिप प्रसाद यादव
356 पाठक संख्या

कलैया : नेपाल पत्रकार महासंघ पर्साले समाचार सामाग्रीमाथि स्थानीय प्रशासनले हस्तक्षेप गरेको भन्दै विरोध गरेको छ।

पर्सा शाखा वीरगञ्जका सचिव विजयकुमार महतोले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो किसिमको हस्तक्षेप नगर्न भन्दै चेतावनी दिइएको छ।

विज्ञप्तिमा केही दिनअघि वीरगञ्जमा दुई समुदायबीच उत्पन्न तनाव यता आम सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भइरहेका घटनाक्रमप्रति नेपाल पत्रकार महासंघ,पर्सा शाखाको गम्भीर ध्यानाकर्षण भएको लेखिएको छ।

समाचार संकलनका क्रममा सञ्चारकर्मीमाथि आक्रमण र दुव्र्यहारका घटना सेलाउन नपाउँदै स्थानीय सञ्चारमाध्यमका समाचार सामग्रीमा स्थानीय प्रशासनको हस्तक्षेप देखि समाचार लेखेकै कारण सञ्चारकर्मीलाई सामाजिक सञ्जाल मार्फत भएका गालीगलौज आपत्तिजनक रहेको विज्ञप्तिमा जनाइएको छ।

शाखाका सदस्य रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी सञ्चालक रहेको स्थानीय टेलिभिजन ’ए न्यूज’मा मिति २०८२ वैशाख ६ गते साँझ ६ बजे प्रसारणको तयारीमा रहेको सामग्रीको प्रसारणमा पुनर्विचार गर्न भन्दै स्थानीय प्रशासनको दबाबपूर्ण आग्रह प्रेस स्वतन्त्रता कुण्ठित तुल्याउने प्रयास भएको विज्ञप्तिमा भनिएको हो।

सो सामग्रीमा कुनै आपत्तिजक सन्दर्भ भएमा प्रेस काउसिन्सल मार्फत प्रक्रिया अघि बढ्नुपर्नेमा सिधै स्थानीय प्रशासनको हस्तक्षेप स्वीकार्य हुँदैन विज्ञप्तिमा प्रतिवाद गरिएको छ।

पर्सा शाखाका सदस्य सुरेश बिडारीले लेखेको समाचारलाई लिएर उनीमाथि सामाजिक सञ्जाल मार्फत भएको गालीगलौज निन्दनीय छ विज्ञप्तिमा लेखिएको छ। यस्तो कार्यमा संलग्न जोसुकै भए पनि कानूनी कारवाहीको दायरामा ल्याइनु पर्दछ।

सामाजिक सद्भाव कायम राख्न सबै पक्षको सकारात्मक सहकार्यको खाँचो छ। यसमा सञ्चारकर्मी र सञ्चारमाध्यम सचेत छन÷हुनु पर्दछ विज्ञप्तिमा स्पष्ट पारिएको छ। यो बाहानामा स्वतन्त्र प्रेसको अवधारणामै प्रहार हुने गतिबिधि नगर्न र नगराउन विज्ञप्तिमा आग्रह गरिएको छ।

प्रेसमाथि हस्तक्षेप र मानसिक दबाब दिने खालका गतिविधि दोहोरिएमा पत्रकार महासंघ कडा कदम चाल्न बाध्य हुने विज्ञप्तिमा जनाइएको छ।

Leave a review

This will close in 0 seconds