प्रमुख प्रशासकीय अधिकृतसहित प्रदेश मिडिया काउन्सिलका रजिष्ट्रार उपाध्यायलाई छ महिना कैद एवम् लाखौंको जरिवाना

साझेदारी दैनिक
638 पाठक संख्या

कलैया : मधेश प्रदेश मिडिया काउन्सिलका रजिष्ट्रार कमलकुमार उपाध्यायलाई विशेष अदालतले छ महिना कैद र दण्ड जरिवाना गरेको छ। अदालतले भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको हो।

रजिष्ट्रार नियुक्त भएको दोस्रो दिनमा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्याय विरुद्ध गत वैशाख ९ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर,सदस्य एवम् न्यायाधीश रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले सो सजाय सुनाएको हो।

उपाध्यायलाई ६ महिना कैद सजाय र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना तिराउने फैसला गरेको हो। उपाध्यायले बाराको पचरौता नगरपालिकाको दुई वटा ठेक्काको टेन्डर सूचना राष्ट्रिय स्तरको दैनिकमा प्रकाशन गर्नुपर्नेमा रेकर्डका लागि मात्र दैनिक पत्रिकामा एकप्रति प्रिन्ट गराएका थिए। उनले बिल भरपाई बनाइ ३ लाख ५२ हजार ५६० रूपैयाँ हिनामिना गरेको भन्दै आयोगले अदालतमा मुद्दा दायर गरेको थियो ।

नियुक्त भएको २ दिनमा नै आयोगले उनी बिरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाएपछि उनी स्वतः निलम्बनमा परेका थिए । नगरपालिकासँगको मिलोमतोमा उनले सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमितता गरेका थिए । उपाध्यायको कम्पनी केएस मल्टीपरपोज प्रालीलाई १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना गरेको छ।

उक्त कार्यमा संलग्नता देखिएका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवलाई पनि ६ महिना कैद सजाय र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना गराउने विशेष अदालतले फैसला गरेको हो।

नगरपालिकाका लेखापाल हासिम मिया अन्सारीले प्रमुख प्रशासकीय अधिकृतको आदेश अनुसार भुक्तानी मात्रै दिएको देखिएको हो। उनी विरुद्ध ठोस एवम् वस्तुनिष्ट प्रमाणबाट दोषी पुष्टि नभएपछि उनलाई विशेष अदालतले सफाई दिएको छ।

नेपाल पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष तथा प्रेस चौतारी नेपालका पूर्वसचिव उपाध्याय हुन्। उनी बाराबाट प्रकाशन हुने कृपा दैनिकका प्रकाशक तथा सम्पादक समेत हुन्।

Leave a review

This will close in 0 seconds