कलैया : बारामा शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाईएको छ । दिवसका अवसरमा विभिन्न निकाय र जिल्लाका १६ वटै पालिकाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएका हुन । पालिकाहरुले प्रभातफेरी, वृक्षारोपण, सरसफाई, अन्तरक्रिया,रक्तदान जस्ता कार्यक्रमहरु गरेर दिवस मनाईएको छ ।
जिल्लाको कलैया उपमहनगरपालिका,जीतपुरसिमरा उपमहानगरपालिका, कोल्हवी नगरपालिका, निजगढ नगरपालिका, महागढीमाई नपा, पचरौता नगरपालिका,सिम्रौनगढ नपा, लगायतका १६ वटै पालिकाहरुले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको पालिका स्रोतले बताएको छ ।
बाराको कोल्हवी नगरपालिकाले संविधान दिवसको अवसरमा प्रभातफेरी निकालेको छ । नगरप्रमुख रामप्रसाद चौधरीको नेतृत्वमा निकालिएका उक्त प्रभातफेरीले नगरको विभिन्न भागको पक्रिमा गरीएको थियो ।
यसैविच जीतपुरसिमरा उपमहानगरपालिकाले संविधान दिवसको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । उपमहानगरपालिकाको कार्यालय परिसरमा भएको कार्यक्रममा १३ महिलासहित कुल ५४ जनाले रगतदान गरेका छन् ।
कार्यक्रमको उद्घाटन नगर प्रमुख राजन पौडेलले गर्नुभएको थियो । यसअघि कार्यालयमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी संविधान दिवसको औपचारिक कार्यक्रम शुरु गरिएको थियो । कार्यक्रममा उपप्रमुख भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईं, विभिन्न वडाका वडाध्यक्ष तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
रक्तदानलाई समाजसेवा र मानवताका लागि महत्वपूर्ण योगदानका रूपमा लिँदै सहभागीहरूले संविधान दिवसलाई विशेष बनाएर उत्सवका साथ मनाएका छन् ।

