नवरात्रको छैटौँ दिन स्कन्दमाताको गरियो पूजा

राजेश कुशवाहा
185 पाठक संख्या

कलैया : नवरात्रको छैटौँ दिन शनिबार बारामा नौ दुर्गा मध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिएको छ। जिल्लाको १६ पालिकामा हिन्दु धर्मालम्बीहरुले स्कन्दमाताको विधिपूर्वक पूजा गरेका छन्। छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनतकुमारको नाम स्कन्द रहन गएको हो।

स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाएकी हुन्। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन्।

नवरात्रमा जिल्ला भरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ। नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा, आराधना एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, पारिवारिक सुख शान्ति एवं ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

Leave a review