पर्सामा अजिङ्गर र घाइते चितलको उद्धार,काठ तस्कर पक्राउ

रञ्जन यादव
342 पाठक संख्या

वीरगञ्ज : पर्सामा वन गस्ती टोलीले पर्सागढी नगरपालिका वडा नं. ८ मा सञ्चालित एक ह्याचरी उद्योगमा भेटिएको अजिङ्गर सर्पको उद्धार गरी सुरक्षित रूपमा जंगलमा पुनःछाडेको छ ।

त्यस्तै सखुवा प्रसौनी गाउँपालिकाका दुई स्थानबाट स्थानीयवासीले पक्राउ गरेका दुई चितल (हरिण) को उद्धार गरिएको डिभिजनल बन अधिकृत महमदले बताए ।

वडा नं. ४, देउरबाना र वडा नं. २, प्रसौनीबाट दुई वटा चितल गाउँलेहरूले नियन्त्रणमा लिएको सूचना पाएपछि रङ्गपुर सब डिभिजन बन कार्यालयको टोलीले उद्धार गरी सुरक्षित रूपमा रङ्गपुर सब डिभिजन वन कार्यालयमा राखेको फरेष्टर पुरुषोत्तम पटेलले जानकारी दिए ।

तीमध्ये एक चितल घाइते अवस्थामा रहेकोले भोलि प्राथमिक उपचार गरेपछि जंगलमा छोडिने योजना रहेको उनले सुनाए । यसैगरी जिल्लाको विभिन्न स्थानमा वन संरक्षण तथा वन्यजन्तु सुरक्षाका लागि गरिएको गस्तीको क्रममा बड्निहार सब डिभिजन बन क्षेत्रबाट करिब ३० क्युफिट काठ सहित एक जना पक्राउ गरिएको छ ।

नियमित गस्तीका क्रममा पक्राउ परेका व्यक्ति पर्सागढी नगरपालिका वडा नं. २, हरपुर निवासी २६ वर्षीय तेजा माझी रहेका छन् । जमदार जीतबहादुरको नेतृत्वमा रहेको गस्ती टोलीले ती व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय,पर्सा पठाएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिएका छन ।

वन गस्ती टोलीले वन्यजन्तु तथा वन संरक्षणलाई सशक्त बनाउँदै अवैध काठ तस्करी,चोरी–शिकार नियन्त्रण गर्न थप सक्रियता बढाएको जनाएको छ।

Leave a review

This will close in 0 seconds