७० औं प्रहरी दिवसमा स्व. मुन्ना ठाकुरकी श्रीमतीलाई ६ लाख ३५ हजारसहित सम्मान

साझेदारी दैनिक
275 पाठक संख्या

कलैया । असार २४ गते रसुवामा आएको बाढीमा परी बेपत्ता भएका बारा घर भई रसुवागढी नाकामा कार्यरत प्रहरी जवान स्वर्गीय मुन्ना ठाकुरको परिवारलाई प्रहरीले नगदसहित सम्मान गरेको छ।

नेपाल प्रहरीको ७० औं प्रहरी दिवसको अवसरमा बाराको फेटा गाउँपालिका वडा नं १ भलुही बस्ने प्रहरी जवान स्व. मुन्ना ठाकुरको श्रीमती गुन्जा ठाकुरलाई जिल्ला प्रहरी कार्यालय बारामा आयोजित बिशेष कार्यक्रममा दोसल्ला ओढाएर नगद सहित सम्मान गरिएको हो ।

ठाकुरको परिवारलाई प्रहरी विपद तथा राहत कोषबाट प्राप्त ६ लाख रुपैयाँ बराबरको चेक, मधेश प्रदेश प्रहरी कार्यालयबाट प्राप्त ३५ हजार रुपैयाँ नगद सहित कार्यक्रमका प्रमुख अतिथि बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले हस्तान्तरण गरेका थिए।

रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नं २ रसुवागढी क्षेत्रमा आएको बाढीका बेला उद्धार कार्यमा खटिएका ठाकुर बेपत्ता भएका थिए। बेपत्ता भएको लामो समयसम्म पनि उनको कुनै खबर नपाएपछि परिवारले उनलाई मृत सम्झेर साउन २३ गते कुशको शव बनाएर अन्तिम संस्कार गरेका थिए ।

आज आयोजित प्रहरी दिवस कार्यक्रममा शहीद तथा कर्तव्यपालनका क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारीहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै, उपस्थित अधिकारीहरूले प्रहरी परिवारको योगदान र त्यागको उच्च प्रशंसा गरेका थिए ।

Leave a review

This will close in 0 seconds