कलैया : बाराको कलैयास्थित एक कार्यालयले कमिशनको लागि सूचना लुकाईरहेको पाइएको छ। जलस्रोत तथा सिंचाई विकास डिभिजन बाराका सूचना अधिकारी पंकज महतोले सूचना दिन नमानेका हुन्। कार्यालयले आफुलाई बिना मतलब सूचना अधिकारी बनाएको भन्दै सूचना दिन महतो पन्छिन खोजेको पाईएको हो ।
उर्जा सिंचाई तथा खानेपानी मन्त्रालय अन्तर्गत पर्ने जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कलैया बारामा सब ईन्जिनियर अधिकृत छैठौ पदमा उनी कार्यरत रहेका छन्। महतोले कार्यालयले बिना मतलब आफुलाई सूचना अधिकारी बनाएको आरोप लगाएका छन्।
सब ईन्जिनियर महतोले सूचना अधिकारीको लागि सातौ तहको अधिकृतको आवश्कता रहेको बताए। उनले आफुलाई कार्यालयका तत्कालिन कार्यालय प्रमुखले फसाएको आरोप लगाएका छन् ।
जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बाराबाट जिल्लामा भईरहेको कामको विवरणको सूचना माग गर्न कार्यालय पुग्दा सूचना अधिकारी महतोले सूचना दिन विभिन्न किसिमको बहाना बनाउँदै आलटाल गर्दै आएका थिए ।
कामको विवरण माग गर्दा सूचना अधिकारी महतोले पहिला सूचनाको लागि निवेदन लेखेर ल्याउनु पर्ने भने। कार्यालय प्रमुखको आदेशमा मात्र उपलब्ध गराउने अडान राखेका थिए ।
बारामा संचालन भईरहेका र संचालन हुने क्रममा रहेका हरेक योजनामा सूचना अधिकारी महतोको सेटिंग रहेको कार्यालय स्रोतको दाबि छ। कार्यालयबाट संचालन हुने सम्पुर्ण योजनाहरुमा कमिशन मिलाउने काम सूचना अधिकारी महतोको रहेको श्रोतले दावी गरेको छ।
पत्रकारहरुलाई सूचना दिँदा सेटिंगको जालो भत्कीने र आम्दानी घट्ने डरले सूचना लुकाएको हुन सक्ने स्रोतको भनाई रहेको छ । आफु कुनै किसीमको सेटिंगमा नलागेको महतोको कथन छ।
मन्त्रालयबाट आएको चिठ्ठि सम्बन्धित वडामा पठाउने गरेको र त्यहाँबाट उपभोक्ता समिति बनेर आएपछि काम अगाडि बढाउने गरेको महतो बताउँछन्।

