मानमत–मटिअर्वा सडकखण्डको साढे तीन किलोमिटर सडक निर्माण कार्य सुरु

साझेदारी दैनिक
258 पाठक संख्या

कलैया : बाराको कलैया बजार क्षेत्रमा १४ वर्षदेखि अलपत्र रहेको साढे तीन किलोमिटर मानमत–मटिअर्वा सडकखण्डको निर्माण सुरु भएको छ।

निर्माणको जिम्मा पाएको ठेकेदारले आइतबारदेखि काम शुरु गरेको हो। ठेकेदारले कलैया उपमहानगरपालिका–१ को तीनकुने चोकमा रात्रिकालीन काम थालेको हो । यो सँगै अभियानको मुख्य उद्देश्य पूरा भएको भन्दै यूवा अभियन्ताहरूले चलाएको हस्ताक्षर अभियान स्थगित भएको छ । यूवाहरूले सोमबार सामाजिक सञ्जालमार्फत हस्ताक्षर अभियान स्थगित गरेको घोषणा गरेका हुन् ।

अभियानमा अहिलेसम्म लगभग ६ हजार स्थानीयले हस्ताक्षर गरेका छन् । युवा अभियन्ता सौरभ चौगाईंले निर्माण कार्य सुरु भएपछि अभियान स्थगित गरिएको जानकारी दिए।
अब हाम्रो टिम सडक निर्माणको निरन्तर अनुगमन, सरोकारवाला निकायसँग समन्वय र सम्भावित बाधा हटाउने काममा केन्द्रित हुने जानकारी चौगाईले जनाए। चाँडै यो हस्ताक्षर हामी भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङलाई बुझाउने उनले जनाए। सबै स्थानीयलाई निर्माण प्रक्रियामा सहयोग र निगरानी गर्न आग्रह गरेका छन्।

२०६८ सालमा हुलाकी राजमार्गअन्तर्गत २७ किलोमिटर सडक कालोपत्रे गर्न सुरु गरिएको थियो । कलैया बजारको साढे ३ किलोमिटर सडकखण्डमा मुआव्जा विवाद, स्थानीयको आन्दोलन र सर्वोच्च अदालतमा परेको मुद्दाको कारण सडक बन्न सकेको थिएन। सर्वोच्चले मुद्दामा निर्णय गरेपछि सडक निर्माणको बाटो खुलेको थियो। लामो पर्खाइ र यूवाहरूको दबाब तथा पछि अन्ततः सडक निर्माणले गति लिएको हो ।

Leave a review

This will close in 0 seconds