सिमरा । नेपालको निजी औद्योगिक क्षेत्रको अग्रणी स्टिल उत्पादक हुलास स्टिल इण्डष्ट्रिज प्रालिले ४५ वर्षको औद्योगिक यात्रा पूरा गरेको छ। स्थापना दिवसका अवसरमा उद्योगले उत्पादन क्षमता विस्तार, वातावरणमैत्री प्रविधिको प्रयोग र कर्मचारीको योगदानलाई सम्मान गर्दै विविध कार्यक्रम आयोजना गरेको हो।
सिमरास्थित उद्योग परिसरमा आयोजित कार्यक्रममा उद्योगका प्रबन्ध निर्देशक हिमांशु गोल्छाले स्वदेशी उद्योगको भविष्य सरकारको औद्योगिक नीतिसँग प्रत्यक्ष जोडिएको बताउँदै प्रतिस्पर्धी उत्पादनका लागि उद्योगमैत्री वातावरण अपरिहार्य रहेको धारणा राखे। उनले आयातसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था सिर्जना गर्न उत्पादन लागत घटाउने, लगानी सुरक्षित गर्ने तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको उल्लेख गरे।
उनका अनुसार हुलास स्टिलले चार दशकभन्दा बढी समयदेखि नेपाली बजारमा स्टिलजन्य सामग्री उत्पादन गर्दै निर्माण तथा पूर्वाधार क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। गत आर्थिक वर्षमा उद्योगबाट करिब एक लाख मेट्रिक टन स्टिल उत्पादन भएको जानकारी दिँदै उनले आगामी वर्षहरूमा उत्पादन क्षमता वृद्धि र अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखिने बताए।
स्थापना दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मानपत्रसहित विभिन्न विधाका अवार्ड प्रदान गरिएको थियो। उत्पादन, गुणस्तर व्यवस्थापन, कार्यकुशलता तथा संस्थागत विकासमा उल्लेखनीय योगदान पुर्याएका कर्मचारीलाई व्यवस्थापनले विशेष सम्मान गरेको जनाएको छ।
उद्योग परिसरमै वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै हुलास स्टिलले वातावरण संरक्षणप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। उद्योगले ऊर्जा खपत कम गर्ने, डिजेल तथा पेट्रोलमा आधारित उपकरणको प्रयोग क्रमशः घटाउने र वातावरणमैत्री प्रविधि विस्तार गर्ने नीति अवलम्बन गरिरहेको जानकारी कार्यक्रममा दिइयो। हरित उद्योगको अवधारणाअनुसार उत्सर्जन नियन्त्रण र ऊर्जा दक्षतामा केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने व्यवस्थापनको भनाइ थियो।
कार्यक्रममा इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्रप्रसाद कँडेल प्रमुख अतिथिका रूपमा सहभागी थिए। उद्योगका पदाधिकारी, कर्मचारी तथा विभिन्न क्षेत्रका सरोकारवालाको उपस्थितिमा सम्पन्न कार्यक्रममा स्वदेशी उद्योगको संरक्षण, रोजगारी विस्तार, प्रविधि हस्तान्तरण तथा औद्योगिक विकासलाई गति दिन सरकार र निजी क्षेत्रबीच अझ प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा सहभागीहरूले व्यक्त गरेका थिए।


