बारा र पर्साका नेपाल-भारत सीमा नाका ७२ घण्टाका लागी बन्द

साझेदारी दैनिक
310 पाठक संख्या

कलैया । भारत बिहार राज्यको दोस्रो चरणको विधानसभा निर्वाचनलाई दृष्टिगत गरी बारा र पर्साका नेपाल–भारत सीमा नाका ७२ घण्टाका लागी आवागमन बन्द गरिएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले शनिबार एक सूचना जारी गरी आज (शनिबार) साँझ ६ बजेदेखि कात्तिक २५ गते मंगलबार साँझ ६ बजेसम्म सीमा नाकामा आवागमन बन्द गरिएको जानकारी दिए । बिहार विधानसभाको निर्वाचन यही मंगलबार ११ नोभेम्बरमा हुने छ।

जिल्लाको सीमावर्ती क्षेत्र भारतको विहार राज्यको पूर्वी चम्पारण जिल्लामा दोश्रो चरणको विधानसभा निर्वाचन हुने भएकोले शान्ति सुरक्षा व्यवस्थापनका लागि मिति २०८२ कार्तिक २२ गते १८ः०० बजेदेखि २०८२ कार्तिक २५ गते १८ः०० बजेसम्म नेपाल–भारत सीमा नाकामा आकस्मिक सेवा बाहेकका आवागमन पूर्ण रुपमा बन्द गरिने जानकारी सूचनामा दिइएको छ।

नेपाल–भारत सीमा समन्वय बैठकको निर्णय एवं समाहरणालय पूर्वी चम्पारण, मोतिहारीकोे पत्रानुसार सम्बन्धित सबैमा जानकारीको लागि सूचनामा अनुरोध गरिएको छ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार सुचना निकाल्दै नेपालको मुख्य नाका पर्सामा कात्तिक २२ गते बिहानै देखि २५ गते मंगलबार साँझ ६ बजेसम्म सीमा नाका बन्द भएको जनाएको छ।

अत्यावश्यक बाहेक आवतजावत गर्न नपाउने गरी आवागमनमा रोक लगाइएको र निर्वाचन हुने दिन सिमावर्ती नाकाहरुमा पूर्ण रुपमा आवागमनमा रोक लगाइएको छ।

Leave a review

This will close in 0 seconds