वीरगञ्ज : वीरगञ्जको मुख्य सडक बिस्तारको लागि सडक डिभिजन कार्यालय हेटौंडामा समन्वय बैठक बस्ने भएको छ ।
सडक बिस्तारको लागि सरकारी समन्वय इकाईको बैठक दुई तीन दिनमै बस्ने बताइएको छ ।
सर्बोच्चले मुदा खारेज गरेपछि वीरगञ्जको मुख्य सडक बिस्तार गर्ने बाटो खुल्ला भएपछि कसरी अघि बढने बारेमा डिभिजन सडकले समन्वय बैठक बोलाउन लागेको हो ।
वीरगञ्जको मुख्य सडक बिस्तार सम्बन्धि छलफलको लागि समबन्धित सरकारी निकायहरुको बैठक दुई तीन दिनमै बस्ने डिभिजन प्रमुख गुरु प्रसाद अधिकारीले जानकारी दिए ।
लामो समयदेखि सर्बोच्चमा मुदा परेका कारण बिस्तारको पर्खाइमा रहेको वीरगञ्जको मुख्य सडक बिस्तारको लागि बैठक राख्न लागेको उनले बताए ।
सडक बिस्तारको लागि दुई तीन दिनमै समबन्धित सरकारी समन्वय इकाइको बैठक बस्ने छ,उनले भने,सडक बिस्तार अघि छलफलको लागि बैठक बस्न लागेको हो त्यसमा के के हुन्छ त्यो चाहिँ बैठकपछि नै भन्नेछु अहिले डिसक्लोज नगरौं ।
लामो समय देखि बिचाराधिन रहेको वीरगञ्ज महानगरपालिकाको मुख्य सडक विस्तारको मुद्दा गत फागुन २८ गते खारेज भएको छ।
सर्वाेच्च अदालतमा मुद्दाको सुनुवाइ गर्दै सर्बोच्चका न्यायाधीश बिनोद शर्मा र महेश शर्मा पौडेलको इजलासले मुख्य सडक बिस्तारको विरुद्ध परेको पाँचवटा रिटहरु खारेज गरेको हो ।मुद्दा खारेज भएको बारेमा सर्बोच्चको फैसलाको पुर्ण पाठ भने आउन बाकी छ ।
मुद्दा खारेज भएपछि सडकको दायाँबायाँ २५/२५ मिटर सडक बिस्तार हुने भएको छ ।मुदाका कारण त्रिभुवन राजपथ अन्तर्गत वीरगञ्ज महानगरपालिकाको गण्डक चोकदेखि पावर हाउस चोक, घण्टाघर,आदर्शनगर,रजतजयन्ती चोक,शङ्कराचार्यद्वार हुँदै मितेरी पुलसम्मको मुख्य सडक विस्तारको काम हुन सकेको थिएन ।जसका कारण महानगरमा दिनहुँ सवारी जामको समस्या हुँदै आएको छ ।
सडक विभाग अन्तर्गत सडक डिभिजन कार्यालय हेटौंडा र व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयले २०७६ सालमा नै सडक विस्तार गर्ने तयारी गरे पनि त्यस आसपासका घरधनीहरु विरोध गर्दै आएका थिए।
सडक बिस्तारको विरुद्ध लक्ष्मण साह रौनियारलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सडक डिभिजन कार्यालय हेटौंडा, व्यापारिक मार्ग विस्तार आयोजना कार्यालय वीरगञ्ज,जिल्ला प्रशासन कार्यालय पर्सालगायतलाई विपक्षी बनाएर ७ असोज २०७६ मा सर्वोच्चमा रिट दर्ता गराएका थिए।
त्यस्तै बिरेन्द्र कुमार संघाई लगायतले कार्तिक १७,राजकुमारी तुल्स्यान लगायतले पुस २१,भरत प्रसाद रौनियारले २७ माघ २०७७ र सुधीर कुमार बर्णवालले गत जेठ ३० मा मुख्य सडक बिस्तार सम्बन्धि रिट सर्बोच्चमा दायर गराएका थिए ।
त्रिभुवन राजपथ अन्तर्गत बाराको पथलैयादेखि पर्साको गण्डकसम्म त्रिभुवन राजपथको अधिकार क्षेत्रभित्र सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ २५/२५ मिटर विस्तार गरिसकेको छ।
व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयले पथलैयादेखि गण्डक चोकसम्म ६ लेन सडक निर्माण गरिसकेको छ ।

