रौतहट । रौतहटमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।
रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा यस्तो घटना भएको हो। एक महिलाको परिवारकै सदस्यहरुको मिलेमतोमा विभत्स ढंगले हत्या गरेको रहस्य खुलेको हो।
भुसाहा निवासी शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनको हत्या गरिएको हो। सोमबार राति आफ्नै घरको भुस राख्ने स्थानमा खाडल खनी गाडिएको अवस्थामा उनको शव प्रहरीले फेला पारेको हो।
घटनाको जानकारी पाएपछि मंगलबार इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थलमा पुगेको थियो। खातुनको शव पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
मृतकका श्रीमान शेख आदिल वैदेशिक रोजगारीमा रहेका छन्। उनी साउदी अरबमा कार्यरत छन्। घटनापछि खातुनका ससुरा शेख अलि मोहम्मद सहित घरका सबै सदस्य फरार छ्न।
उनीहरु मृतक खातुनको डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई समेत लिएर फरार रहेका छन्। रौतहटका प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार मृतक खातुनको माइती गुजरा नगरपालिका–७ पल्टुवामा रहेको छ।
कार्तिक १८ गते माइतीमा विवाह समारोहका क्रममा एक जनासँग अनैतिक सम्बन्ध राखिरहेकै अवस्थामा खातुनलाई भेटिएपछी घटना भएको अनुमान गरिएको छ ।
दुवैले विवाह गर्ने मौखिक सहमति जनाएपछि ससुरा शेख अलि मोहम्मदको जिम्मामा खातुनलाई छाडिएको खातुनका बुबा ताज मोहम्मदले जनाएका छन्।
ताज मोहम्मदका अनुसार छोराको ससुराली पनि दिदीकै घरमा रहेको छ। छोरा दिदीको घर अर्थात् ससुराली आएकै बेला सोमबार राति घरमै आफ्नी दिदीको हत्या भइरहेको देखेका थिए।
खातुनका भाइ शेख आस मोहम्मदलाई परिवारका सदस्यले हल्ला गर्यो भने तिमीलाई पनि मार्दिन्छु भन्दै धम्की दिएपछि उनी घरबाट भाग्न सफल भएका थिए। भाइ शेख महम्मदले दिदीको हत्या भएको प्रमाणस्वरूप तस्बिर माइतीतर्फ पठाएको परिवारजनले जनाएका छन्।
प्रहरीका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको छ।
टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । घटनास्थलबाट प्रहरीले एक चक्कु समेत बरामद गरेको छ। खातुनको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको र फरार परिवारजनको खोजि गरिरहेको रौतहट प्रहरीले जनाएको छ।

