सिमावर्ती इनर्वा टोलमा प्रहरीकै संरक्षणमा अवैध भट्टी सञ्चालन

साझेदारी डेलि
213 पाठक संख्या

कलैया : बाराको सिमावर्ती क्षेत्रमा प्रहरीकै मिलेमतोमा अवैध मदिरा उत्पादन तथा बिक्री वितरण भइरहेको आरोप सार्वजनिक भएको छ। जिल्लाको पचरौता नगरपालिका–४ स्थित भारतसँग सिधै जोडिएको इनर्वा टोलको खेतबारी क्षेत्रमा अवैध मदिरा भट्टी सञ्चालनमा रहेको स्थानीयले बताएका छन्।

स्थानीय बासिन्दाका अनुसार बेलदारी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुनिल यादवको संरक्षणमा कच्चा पदार्थ तयारीदेखि मदिरा उत्पादन, बिक्री तथा ओसारपसारसम्मका गतिविधि खुलेआम हुँदै आएका छन्। खुला सिमानाको फाइदा उठाउँदै भारततर्फ समेत अवैध मदिरा तस्करी भइरहेको उनीहरूको दाबी छ।

रातिको समयमा समेत प्रहरीकै संरक्षणमा मदिरा पसल सञ्चालन हुने गरेको आरोप छ। स्थानीयका अनुसार सिमानानजिकै एकै स्थानमा ३० भन्दा बढी अवैध मदिरा पसल सञ्चालनमा रहेका छन्। सिमावर्ती क्षेत्र सुरक्षा दृष्टिले संवेदनशील भए पनि प्रहरीकै ‘सेटिङ’मा ती गतिविधि सञ्चालन भइरहेको गुनासो गरिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुरक्षामा थप सतर्कता अपनाउनुपर्ने अवस्था रहेपनि सीमा क्षेत्रमा अवैध मदिरा कारोबार बढ्दै गएको स्थानीयको भनाइ छ। अवैध मदिरा सेवन र त्यसबाट उत्पन्न हुने घटना बढ्दै जान थालेको उनीहरूको चिन्ता छ।

यस विषयमा बेलदारी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सुनिल यादवसँग प्रतिक्रिया माग्दा उनले माघ १६ गते मात्र उक्त चौकीमा हाजिर भएको र मातहतका क्षेत्रको अवस्था बुझ्ने क्रममा रहेको बताए। यदि अवैध मदिरा भट्टी सञ्चालनमा रहेको पुष्टि भए कानुनी कारबाही गरिने उनले बताए।

Leave a review