जीतपुर । नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय बकुलियामा आर्थिक वर्ष २०८१/०८२ को सामाजिक परीक्षण तथा सर्वपक्षीय छलफल कार्यक्रम सम्पन्न भएको छ।
जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित विद्यालयमा पारदर्शिता, उत्तरदायित्व र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समिति पदाधिकारी, शिक्षक, अभिभावक, शिक्षा प्रेमी तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धनञ्जय गौतमले सञ्चालन गरेका थिए। छलफलका क्रममा शिक्षक कालिका प्रसाद ढकाल, समाजसेवी डमरु कामी तथा व्यवस्थापन समिति सदस्य राजेन्द्र प्रसाद चौधरीले विद्यालयको शैक्षिक, आर्थिक र प्रशासनिक अवस्थाबारे धारणा राखेका थिए।
वक्ताहरूले विद्यालयको गुणस्तर सुधार, पारदर्शी आर्थिक व्यवस्थापन, अनुशासन सुदृढीकरण तथा विद्यार्थीको सिकाइ उपलब्धि बढाउने विषयमा महत्वपूर्ण सुझाव दिएका थिए।
कार्यक्रममा विद्यालयको आय–व्यय, शैक्षिक प्रगति, भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापनबारे विस्तृत समीक्षा गरिएको थियो ।सहभागीहरूले विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
विद्यालयका अनुसार उक्त कार्यक्रममार्फत आर्थिक वर्ष २०८१/०८२ को सामाजिक परीक्षण औपचारिक रूपमा सम्पन्न गरिएको छ।


