कलैया । बारा जिल्लाका चार वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्।
बारा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका गणेश धिमाल ३९ हजार ९९८ मतसहित निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार शम्भु बहादुर बुढाथोकीलाई पराजित गरेका हुन्। बुढाथोकीले १४ हजार २२३ मत प्राप्त गरेका छन्। यसैगरी नेकपा (एमाले) का अच्युत मैनाली ले ११ हजार ६४५, नेपाल कम्युनिष्ट पार्टीका सन्तोष दंगाल ले २ हजार ८७८ तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) का रामबाबु प्रसाद यादव ले २ हजार ५३० मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृत शम्भु कुमार बस्नेतका अनुसार यस क्षेत्रमा एक लाख २३ हजार ९८५ मतदाता रहेकामा ८० हजार ५८१ मत खसेको थियो भने ५ हजार २९६ मत बदर भएको थियो।
बारा निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका चन्दन कुमार सिंह ३५ हजार ५९० मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी जसपाका रामकिशोर यादवले १४ हजार १९६ मत प्राप्त गरेका छन्। यस्तै नेपाली कांग्रेसका भैयाराम यादव ले ११ हजार ८३७ र नेकपा (एमाले) का बलबिर चौधरी ले ७ हजार २१३ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृत किरण सिंहका अनुसार यस क्षेत्रमा एक लाख १३ हजार ८३९ मतदाता रहेकामा ७६ हजार ५२४ मत खसेको थियो भने ३ हजार ७६३ मत बदर भएको थियो।
त्यस्तै बारा निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका अरविन्द साह ४० हजार ६९७ मतसहित निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरलाई पराजित गरेका हुन्। मन्सुरले १० हजार ५२ मत प्राप्त गरेका छन्। यस्तै जसपाका रामबाबु कुमार यादवले ६ हजार ८८४, नेकपा (एमाले) की ज्वाला कुमारी साह ले ५ हजार २७१, जनमत पार्टीका प्रमोद गुप्ता ले ३ हजार ८१९, नेपाल कम्युनिष्ट पार्टीका भरत प्रसाद साह ले १ हजार ७५१ र उज्यालो पार्टी नेपालका तीर्थ बहादुर गुरुङ ले १ हजार ७२६ मत प्राप्त गरेका छन्। मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीका अनुसार यस क्षेत्रमा एक लाख १३ हजार ५२१ मतदाता रहेकामा ७५ हजार ९०० मत खसेको थियो भने ४ हजार ६९५ मत बदर भएको थियो।
यसैगरी बारा निर्वाचन क्षेत्र नम्बर ४ मा रास्वपाका रहवर अंसारी ४१ हजार २०० मतसहित निर्वाचित भएका छन्। उनले नेकपा (एमाले) का किसान श्रेष्ठ लाई पछि पार्दै जित हात पारेका हुन्। श्रेष्ठले ११ हजार ६३९ मत प्राप्त गरेका छन्। यसैगरी जसपाका सन्जु साह ले ७ हजार ५९३, नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले ७ हजार १२३ र नेपाल कम्युनिष्ट पार्टीका अजय कुशवाहा ले २ हजार ६७ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार यस क्षेत्रमा एक लाख १४ हजार ४३९ मतदाता रहेकामा ८० हजार ६७८ मत खसेको थियो भने ६ हजार ४१ मत बदर भएको थियो।

