कलैया । कलैया उपमहानगरपालिकाको आयोजनामा शुक्रबार सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत कलैया उपमहानगरपालिकाको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
“स्वदेशमै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं” भन्ने नारासहित आयोजित उक्त कार्यक्रमको नगर प्रमुख बिनोद साहले ब्यानर पढेर उद्घाटन गरेका हुन्। वैदेशिक रोजगारीमा जाने युवायुवतीले सही सूचना लिएर मात्र विदेश जान नगर प्रमुख साहले आग्रह गरे। गैरकानुनी माध्यमबाट हुने जोखिमबाट जोगिन उनले सुझाव दिए। सुरक्षित प्रक्रिया अपनाउन उनले आग्रह गरे।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका जिल्ला संयोजक सरोज सिंहले वैदेशिक रोजगार सम्बन्धी जानकारी दिए। उनले सही सूचना आम नागरिकसम्म पु-याउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताए। वैदेशिक रोजगारीका क्रममा हुने ठगी, मानव बेचबिखन, श्रम शोषणलगायत समस्याबारे जनचेतना जगाउन आवश्यक रहेको उनले जनाए।
सीप सिकेर मात्र जान उनले भने। श्रम स्वीकृति अनिवार्य लिनुपर्ने उनले जनाए। कागजात सुरक्षित राख्नुपर्ने तथा आवश्यक सहयोगी संस्थाबारे जानकारी लिएर मात्र जानुपर्नेमा जोड दिए। वित्तीय साक्षरता र मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराइँदै आएको उनले जनाए।
कार्यक्रममा उपप्रमुख रौशन प्रविण, कार्यपालिका सदस्य कल्पना नेपाल, प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहसहित जिल्लाका करिब ३० जना पत्रकारहरूको उपस्थिति रहेको थियो।

