स्थानीय तहका कर्मचारीहरुको आन्दोलनको कारण सेवा प्रभाबित भएको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले संघीय मामिला तथा प्रशासन मन्त्रालयलाई एक पत्र लेखेका छन् ।

मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै लेखिएको पत्रमा स्थानीय तहका कर्मचारीहरुको जायज मागहरुलाई सम्बोधन गर्न अनुरोध गरेका छन् ।
स्थानीय तहका कर्मचारी र नेपाल सरकारवीच बार्ताको बाताबरण मिलाई उपमहानगरपालिकाको दैनिक सेवा प्रबाह सुचारु गर्ने,गराउँने कार्यमा सहजीकरणको लागि उनले अपिल गरेका हुन् ।
असोज १९ गते देखि अनिश्चितकालीन पेन डाउन गरी कर्मचारीहरु काठमाडौँ र उपमहानगरपालिकाको मुल गेटमा ब्यानर सहित धर्नामा बस्दा दैनिक सेवा प्रभाबित बनेको पत्रमा उल्लेख गरिएको छ ।
एकीकृत निजमती ऐन जारी गर्नुपर्ने लगायत माग राख्दै स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा होमिँदा बाराको स्थानीय तहको सेवा प्रभाबित बनेको छ ।
संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने,प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने,अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी स्थानीय तहका कर्मचारी आन्दोलित छन् ।
संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको उनीहरूको गुनासो छ ।

