बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराले जिल्लाका विभिन्न विद्यालय तथा समुदायमा लागूऔषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।
गण मातहत रहेका सीमा सुरक्षा गुल्म तथा बिओपीहरूले विद्यार्थी र स्थानीय समुदायलाई लक्षित गर्दै लागूऔषध दुव्र्यसनका असर, जोखिम तथा नियन्त्रणका उपायबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका हुन्।
नम्बर १२ गणका प्रवक्ता एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारीका अनुसार वैशाख २४ गते सीमा सुरक्षा गुल्म हे.क्वा. पिपरपातीले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खजानीमा ४० जना सहभागीलाई प्रशिक्षण दिएको थियो। त्यस्तै सीमा सुरक्षा गुल्म हे.क्वा. मटिअर्वाले श्री दुर्गा माध्यमिक विद्यालय बरेबामा ६० जनालाई लागूऔषध विरुद्ध सचेतनामूलक कक्षा सञ्चालन गरेको थियो।
यस्तै वैशाख २५ गते वि.ओ.पी. कब्हिगोठले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कब्हिगोठ जगतमा १०७ जना विद्यार्थी, वि.ओ.पी. बेनौलीले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेनौलीमा ३५ जना, वि.ओ.पी. बरेनियाले श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय छत्तवामा ७० जना तथा वि.ओ.पी. गोलांगजले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बसविरियामा ५० जना विद्यार्थीलाई लागूऔषध सम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन गरेका थिए।
त्यसैगरी वैशाख २९ गते वि.ओ.पी. बेल्दारीले श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बेल्दारीमा ६० जना सहभागीलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। यसैबीच जेठ २ गते वि.ओ.पी. मटिअर्वाले मटिअर्वा क्षेत्रमा लागूऔषध दुव्र्यसन विरुद्ध माइकिङसहित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो।
कार्यक्रमहरूमा लागूऔषधको दुरुपयोगबाट समाज र स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे जानकारी गराइएको थियो। साथै सार्वजनिक स्थानमा माइकिङमार्फत समुदायस्तरमा व्यापक सचेतना फैलाउने प्रयास गरिएको सशस्त्र प्रहरीले जनाएको छ।


