कलैया । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) बाराको अध्यक्षमा सत्येन्द्र प्रसाद यादव सर्वसम्मत चयन भएका छन्। कलैयामा शनिबार सम्पन्न जिल्ला भेलाले यादवको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो।
ओमप्रकाश चौधरीको अध्यक्षतामा सम्पन्न भेलाले महिला उपाध्यक्षमा ज्योति उपाध्याय पौडेल र पुरुष उपाध्यक्षमा सञ्जीवकुमार उपाध्यायलाई जिम्मेवारी दिएको छ। सचिवमा जयशिव पण्डित, सहसचिवमा सन्तोषकुमार चौरसिया तथा कोषाध्यक्षमा ओमप्रकाश चौधरी चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा राजेश तिवारी, कन्हैया साह, सुशील पण्डित, डा. रमेशकुमार झा, राम रावत र शम्भु गुप्ता चयन भएका छन्। भेलाले सल्लाहकार चयन तथा युनियनको बैंकिङ खाता सञ्चालनलगायतका प्रस्तावसमेत पारित गरेको छ।
भेलामा बोल्दै विशिष्ट अतिथि देवीकुमारी सापकोटाले साविक उच्च माध्यमिक विद्यालयका शिक्षकहरूले आफ्ना पेसागत अधिकारका लागि विगतमा गरेको संघर्ष स्मरण गरिन्। विभिन्न समयमा सरकारसमक्ष माग राखिए पनि अपेक्षाअनुसार सम्बोधन हुन नसकेको भन्दै उनले शिक्षकका बाँकी माग पूरा गर्न थप पहल आवश्यक रहेको बताइन्।
अतिथि ग्यासुद्दिन अन्सारीले विगतदेखि थाती रहेका मागलाई नयाँ पुस्ताका शिक्षकहरूले एकताबद्ध भएर प्रभावकारी रूपमा उठाउनुपर्ने धारणा राखे। कालिका प्रसाद ढकालले शिक्षकको पेसागत हकहित संरक्षणका लागि संगठनभित्रको एकता बलियो हुनुपर्नेमा जोड दिए।
भेलामा जिल्लाका विभिन्न विद्यालयबाट ४० भन्दा बढी साविक उच्च माध्यमिक तहका शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो। नयाँ नेतृत्व चयनसँगै शिक्षकका पेसागत समस्या र हकहितका विषयलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता सहभागीहरूले व्यक्त गरेका थिए। कार्यक्रम कलैयास्थित श्री ३ चन्द्र माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको हो।


