वीरगञ्ज । पर्सा प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–१ निवासी २४ वर्षीय प्रेमकुमार पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी हरिबहादुर वस्नेतले बुधबार प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन् ।
प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–१२ मुर्ली निवासी दिपेन्द्र कुशवाहाको नाममा दर्ता रहेको मप्र ०३–०३३प ८५१७ नम्बरको टिभिएसको निलो कालो रंगको अपाचे मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा पटेल पक्राउ परेका हुन् ।
वीरगञ्ज–१२ स्थित दिलबन्धु पेट्रोल पम्पको पार्किङमा राखिएको मोटरसाइकल चोरी गरेर भाग्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


