बारामा २० वर्षपछि हत्याका आरोपी चौरसिया पुर्पक्षका लागि जेल चलान

साझेदारी डेलि
137 पाठक संख्या

कलैया । बारामा २० वर्षअघि भएको हत्या घटनाका एक आरोपीलाई प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रसौनी गाउँपालिका–५ का ४८ वर्षीय श्यामबाबु प्रसाद चौरसियालाई बारा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागारमा पठाइएको हो।

प्रहरीका अनुसार २०६२ साल असोज ३ गते साविक मोतिसर गाविस–९ हाल कलैया उपमहानगरपालिका–१८ मोतिसर टोल निवासी ४० वर्षीय सितलप्रसाद चौरसियाको हत्या भएको थियो। जग्गा सम्बन्धी पुरानो रिसइबीका कारण नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जबाट ड्युटी सकेर घर फर्किने क्रममा साविक प्रसौनी गाविस–५ हाल प्रसौनी गाउँपालिका–१ स्थित दुधौरा खोलाको बगरमा उनको हत्या गरिएको थियो।

घटनाको अनुसन्धानका क्रममा प्रतिवादीमध्ये श्यामबाबु प्रसाद चौरसियाले मृतक सितलप्रसाद चौरसियाको घाँटी (कण्ठ) काटी हत्या गरेको प्रहरीले जनाएको छ। फरार रहेका चौरसियालाई प्रहरीले जेठ १३ गते पक्राउ गरेको थियो।

पक्राउपछि अनुसन्धान प्रक्रिया पूरा गरी असार ५ गते बारा जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds