नविन शिक्षण विधिसम्बन्धी कार्यशाला, खेलमार्फत सिकाइमा जोड

साझेदारी डेलि
59 पाठक संख्या

सिमरा । विद्यालय शिक्षणलाई समयानुकूल, सिर्जनशील र विद्यार्थी–केन्द्रित बनाउने उद्देश्यसहित बाराको सिमरामा ‘ग्यामिफिकेसन एन्ड फोनिक्स लर्निङ’ विषयमा एकदिने विशेष कार्यशाला सम्पन्न भएको छ। सिमरा–डुमरवाना स्कूल्स हबको आयोजनामा शुक्रबार सिमरा इनमा आयोजित कार्यक्रम अमेरिकी दूतावास काठमाडौं तथा रिजनल इङ्ग्लिस ल्याङ्ग्वेज अफिसको सहकार्यमा सम्पन्न भएको हो।

‘शिक्षकलाई सक्षम बनाऔं, सिकाइलाई प्रभावकारी बनाऔं’ भन्ने नारासहित सञ्चालन गरिएको कार्यशालामा आधुनिक शिक्षण पद्धति, खेलमा आधारित सिकाइ र फोनिक्समार्फत अंग्रेजी भाषा शिक्षणलाई अझ प्रभावकारी बनाउने उपायबारे व्यवहारिक अभ्यास गराइएको थियो।

कार्यक्रमका प्रशिक्षक बिबस जंग थापाका अनुसार बदलिँदो शैक्षिक आवश्यकता अनुरूप शिक्षकलाई नवीन प्रविधि र प्रभावकारी शिक्षण सीपसँग परिचित गराउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो। उहाँले खेल तथा गतिविधिमूलक सिकाइले विद्यार्थीको रुचि, सहभागिता र सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।

बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन भएको कार्यशालामा सिमरा–डुमरवाना स्कूल्स हबअन्तर्गतका संस्थागत विद्यालयका २२ जना प्राथमिक तहका शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो। कार्यक्रममा अमेरिकी अंग्रेजी भाषा फेलो एन्ना लिटिलपेज र प्रशिक्षक बिबस जंग थापाले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले कक्षाकोठामा विद्यार्थीको सक्रिय सहभागिता बढाउने उपाय, सिर्जनात्मक शिक्षण अभ्यास तथा भाषा सिकाइलाई सहज र आकर्षक बनाउने विभिन्न विधिबारे प्रस्तुति दिनुभएको थियो।

हबका संयोजक बसन्त ढकालले यस्ता व्यावसायिक विकासमूलक कार्यक्रमले शिक्षकको क्षमता अभिवृद्धि हुनुका साथै विद्यालयमा गुणस्तरीय र प्रभावकारी शिक्षण–सिकाइ वातावरण निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार आगामी दिनमा पनि शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका यस्ता कार्यक्रमलाई निरन्तरता दिइने योजना रहेको छ।

Leave a review

This will close in 0 seconds