सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२० कञ्चनपुरमा एक महिनादेखि सञ्चालनमा रहेको सिलाइ–कटाइ तालिम सम्पन्न भएको छ। महिलालाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले सञ्चालन गरिएको तालिम आइतबार एक कार्यक्रमका बीच समापन गरिएको हो।
वडा कार्यालयको दुई लाख रुपैयाँ बजेटमा सञ्चालन गरिएको तालिममा विपन्न, एकल तथा उत्पीडित समुदायका १३ जना महिलाले सहभागिता जनाएका थिए। जेठ २० गतेदेखि सुरु भएको तालिमको समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको वडा सचिव हरिकिशोर साहले जानकारी दिनुभयो।
समापन समारोहलाई सम्बोधन गर्दै मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्न सके मात्र यसको वास्तविक उपलब्धि देखिने बताउनुभयो। उहाँले सीपले रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने क्षमता विकास गर्ने भएकाले सहभागी महिलाले आत्मनिर्भर बन्नेतर्फ अग्रसर हुनुपर्ने धारणा राख्नुभयो।
उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले स्थानीय आवश्यकता र मागलाई आधार बनाएर सञ्चालन गरिएका यस्ता सीपमूलक कार्यक्रमले आर्थिक सशक्तीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले तालिमबाट सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गरी आयआर्जन गर्न सहभागीलाई प्रेरित गर्दै आगामी वर्षहरूमा पनि उत्पादनमुखी कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
कार्यक्रमका अध्यक्ष तथा वडा नं. २० का अध्यक्ष रसुल मियाँले महिलाको आर्थिक अवस्था सुदृढ बनाउन वडाले सीप विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो। उहाँले तालिमपछि पनि सिकेको सीपलाई निरन्तर अभ्यास गर्दै व्यवसाय सञ्चालनतर्फ लाग्न आग्रह गर्दै स्थानीय आवश्यकताअनुसार यस्ता कार्यक्रम आगामी दिनमा समेत सञ्चालन गरिने जानकारी दिनुभयो।
समापन कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी तथा सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। तालिममा सहभागी महिलाहरूले प्राप्त सीपले भविष्यमा आफ्नै व्यवसाय सञ्चालन गर्ने आत्मविश्वास बढाएको प्रतिक्रिया दिएका थिए।


