कलैया : बाराको कलैयामा विद्युत आपूर्तिको समस्या झेलिरहेका सचेत नागरिक समुहले बिहीबार विरोध प्रर्दशन गरेका छन ।
नेपाल विद्युत प्राधिकरणको कलैया वितरण केन्द्रमा ज्ञापनपत्र बुझाउन जाँदा कार्यालय प्रमुख अनुपस्थित भएपछि उनीहरूले सडकमै विरोध प्रदर्शन गरेका छन्।
रास्वपा जिल्ला सभापति चन्दन स्वर्णकारको नेतृत्वमा गएको सचेत नागरिक समूहले कार्यालय अगाडि नाराबाजी गर्दै बिहीबार अपरान्ह विरोध गरेका हुन्।
उनीहरुले सो अवसरमा “औघोषित लोडसेडिङ बन्द गर“, “बिना कारण लाइन काट्न पाइँदैन“, “जनतालाई दुःख दिन पाइँदैन“ जस्ता नाराहरू लगाउँदै नागरिक समुहले विरोध गरेका थिए ।
विरोधका क्रममा प्रहरी र सचेत नागरिक समुहबीच भनाभन समेत भएको थियो। केहीबेरका लागि समूहका अगुवा चन्दन स्वर्णकार र विक्रम यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पछि स्थिति सामान्य भएपछि आफुहरूलाई छोडिएको स्वर्णकारले जानकारी गराए ।
स्वर्णकारका अनुसार औघोषित लोडसेडिङका कारण कार्यालय सेवा अवरुद्ध हुनुका साथै किसान, विद्यार्थी, अस्पताल र सर्वसाधारण जनतामा व्यापक असर परिरहेको छ। “यो समस्या अब व्यक्तिगत होइन, सम्पूर्ण बारावासीको हो,“ उनले भने।
उक्त विरोधमा चन्दन स्वर्णकार,भोला साह कानु,सञ्जीव यादव, लालमुकेश ठाकुर, विनय जैसवाल, उमेश महतो, कबिराज चौधरी, प्रमोद सर्राफ, ज्याउद्दिन अन्सारी, आबिद मन्सुर, राजीव यादवलगायत दर्जनौं सेवाग्राहीहरूको सहभागिता थियो।


