बारा । बाराको पचरौता नगरपालिका–१ स्थित नेपाल–भारत सीमास्थित जमुनिया खोलाको किनारमा एक अज्ञात पुरुषको शव फेला परेको छ।
भारततर्फको सीमा सुरक्षा बल (एसएसबी) ले आइतबार साँझ करिब ७ः३० बजे प्रहरी चौकी पिपरपातीलाई शव देखिएको जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक समसुदिन मियाँ तेलीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार नेपाल–भारत सीमाको ३६३/३० नम्बर सीमास्तम्भबाट करिब १५४ फिट पश्चिम–उत्तरतर्फ जमुनिया खोलाको किनारमा शव फेला परेको हो।
बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार मृतक अन्दाजी ३३ देखि ३५ वर्ष उमेर समूहका पुरुष हुन्। उनको हालसम्म पहिचान खुल्न सकेको छैन।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको नेतृत्वमा सोकोसहितको टोली तथा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी सहायक निरीक्षक आशिक चौधरीको कमाण्डमा अर्को टोली खटिएको प्रहरीले जनाएको छ।
सूचना अधिकारी घलेका अनुसार शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको छ। घटनाको कारण र मृतकको पहिचान खुलाउने विषयमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी घलेले जानकारी दिए ।


