अपाङ्गता भएका युवाका अधिकार र अवसरबारे बहस

रञ्जन यादव
48 पाठक संख्या

जीतपुर । अपाङ्गता भएका युवाको शिक्षा, रोजगारी, सार्वजनिक सेवा र सामाजिक सहभागितामा समान पहुँचको विषयलाई केन्द्रमा राख्दै जीतपुरसिमरा उपमहानगरपालिकामा अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ। दिवसका अवसरमा आयोजित कार्यक्रममा अपाङ्गता समावेशीकरणलाई व्यवहारमै लागू गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

‘भिन्न परिवेश, साझा आकांक्षा’ नारासहित बुधबार उपमहानगरपालिकाको सभाहलमा प्यानल छलफल तथा अन्तरक्रिया आयोजना गरिएको हो। नेत्रहिन युवा संघ नेपाल र सीबीएम ग्लोबल डिसएबिलिटी इन्क्लुजनको संयुक्त आयोजनामा तथा जीतपुरसिमरा उपमहानगरपालिका र सिमरा जेसीजको सहकार्यमा कार्यक्रम भएको हो।

कार्यक्रममा नगर प्रमुख राजन पौडेलले अपाङ्गता भएका व्यक्तिसहित सबै नागरिकले समान अवसर पाउने वातावरण निर्माण गर्नु स्थानीय सरकारको जिम्मेवारी भएको बताउनुभयो। युवालाई विकासको मूलधारमा सहभागी गराउन अपाङ्गता भएका युवालाई लक्षित गरी समावेशी नीति तथा कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ थियो।

उपप्रमुख भोलाप्रसाद अधिकारीले अपाङ्गता भएका व्यक्तिले शिक्षा, रोजगारी, सार्वजनिक सेवा र सामाजिक जीवनमा भोगिरहेका अवरोध हटाउन स्थानीय सरकार संवेदनशील रहेको बताउनुभयो। उहाँले आगामी दिनमा बजेट, सीप विकास, रोजगारी तथा अपाङ्गतामैत्री संरचना निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको प्यानल छलफलमा अपाङ्गता भएका व्यक्तिको अधिकार, सामाजिक विभेद, रोजगारीका सम्भावना, पहुँचयुक्त पूर्वाधार र राज्यको दायित्वबारे बहस भएको थियो। छलफलमा उपप्रमुख अधिकारीसँगै अपाङ्गता समन्वय समितिकी सदस्य खेमकुमारी कार्की, सञ्चारकर्मी सुरेश बिडारी, सामाजिक अभियन्ता सर्वेश पौडेल र नेत्रहिन युवा संघ बाराका कोषाध्यक्ष शिवेन्द्रकुमार यादव सहभागी थिए।

छलफलमा सहभागी अपाङ्गता भएका युवाले आफूहरूले दैनिक जीवनमा भोग्दै आएका समस्या र अवसरको कमीबारे प्यानल सदस्यसमक्ष प्रत्यक्ष जिज्ञासा राखेका थिए। उनीहरूले शिक्षा र रोजगारीमा अवसर विस्तारसँगै सार्वजनिक सेवा तथा सामाजिक गतिविधिमा सहज पहुँचका लागि आवश्यक व्यवस्था गर्न माग गरे।

कार्यक्रममा सहभागी प्यानलिस्टहरूले अपाङ्गता भएका व्यक्तिको अधिकार कानुन र नीतिमा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताएका थिए। त्यसका लागि स्थानीय सरकार, नागरिक समाज, अपाङ्गता क्षेत्रमा काम गर्ने संस्था र अन्य सरोकारवाला निकायबीच निरन्तर सहकार्य आवश्यक रहेको उनीहरूको निष्कर्ष थियो।

Leave a review