प्रादेशिक अस्पताल कलैयामा ओपीडी सेवा लिने बिरामी बढ्दै, तीन दिनदेखि दैनिक तथ्यांक सार्वजनिक

साझेदारी डेलि
53 पाठक संख्या

बारा । प्रादेशिक अस्पताल कलैयाले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवाको दैनिक तथ्यांक सार्वजनिक गर्न थालेको छ। सेवा प्रवाहलाई थप पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले अस्पतालले तीन दिनदेखि आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दैनिक सेवा विवरण सार्वजनिक गर्दै आएको हो।

अस्पतालले साउन २६, २७ र २८ गतेको सेवा विवरण सार्वजनिक गरेको छ। सार्वजनिक तथ्यांकअनुसार अस्पतालको बहिरङ्ग (ओपीडी) सेवामा उपचारका लागि आउने बिरामीको संख्या क्रमशः बढेको देखिएको छ।

साउन २६ गते ओपीडीमा ३३२ जनाले सेवा लिएका थिए। यस्तै, २७ गते ३७४ जना र २८ गते ३८४ जना बिरामीले ओपीडी सेवा लिएका छन्।

ओपीडीअन्तर्गत हाडजोर्नी तथा नशा, बालरोग, स्त्रीरोग, सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, दन्त तथा नेत्ररोगलगायतका सेवा सञ्चालनमा छन्। आकस्मिक सेवातर्फ भने दैनिक ७५ देखि ९४ जनासम्म बिरामीले उपचार सेवा लिएको अस्पतालको तथ्यांकमा उल्लेख छ।

अस्पतालले ल्याब, एक्सरे, इसिजी, भिडियो एक्सरे, प्रसूति तथा विभिन्न शल्यक्रिया सेवाको विवरणसमेत दैनिक रूपमा सार्वजनिक गर्न थालेको छ।

अस्पतालका अनुसार साउन २८ गते मात्रै ४६ जनाले स्त्रीरोग विशेषज्ञ सेवा, १४३ जनाले ल्याब र ८८ जनाले एक्सरे सेवा लिएका थिए।

दैनिक सेवा विवरण सार्वजनिक गर्ने अभ्यासले अस्पतालमा उपलब्ध सेवाको अवस्था, बिरामीको चाप र सेवा प्रवाहबारे सर्वसाधारणलाई नियमित जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ। अस्पताल प्रशासनले आगामी दिनमा पनि दैनिक सेवा तथ्यांक सार्वजनिक गर्ने जनाएको छ।

Leave a review