बार्षिकोत्सवका अवसरमा बृहत रक्तदान तथा आँखा शिविर

संदिप प्रसाद यादव
689 पाठक संख्या

बाराको कलैया रहेको सकृय जन जागरण युवा क्लबले आफ्नो २६ औं बार्षिकोत्सबका अवसरमा विविध कार्यक्रमहरुको आयोजना गरेर मनाएको छ ।

बार्षिकोत्सवका अवसरमा क्लबले कलैयामा मंगलवार बृहत खुल्ला रक्तदान कार्यक्रम र निशुल्क आँखा शिबिर सन्चालन गरेको हो ।

उक्त दुवै कार्यक्रमको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले संघसंस्थाद्धारा समाजमा यस्ता मानवीय कार्यहरु गर्नुपर्ने आवश्यकता रहेको बताएका छन । उहाँले जनजागरणले गरेका कार्यहरुको प्रसंशा गर्दै गरिब,निमुखाहरुको लागि लागि यस्ता सेवामुलक कार्यहरु गर्न आग्रह गर्नुभयो ।

क्लब संस्थाका अध्यक्ष भैयाराम यादवको अध्यक्षतामा बृहत रक्तदान कार्यक्रममा ९ जना महिला र ७१ जना पुरुष गरि जम्मा ८० जनाले रक्तदान गरेका छन ।

यसैगरी सोही अवसरमा ८७ जनाको रगतको समूह परिक्षण र मधुमेह परिक्षण गरिएको थियो । रक्तदानका लागि रक्त सन्चार केंद्र वीरगंजले प्राविधिक सहयोग गरेको संस्थाको कार्यकारी निर्देशक श्रीनिवास बैठाले जानकारी दिएका छन् ।

यसैगरी मंगलवार नै आयोजना गरिएको निशुल्क आँखा शिविरमा २ सय १५ जनाको चेक जाँच गरिएका थिए । चेकजाँच गराएका मध्ये ३७ जनामा मोतिया बिन्दुको समस्या देखिएको संस्थाले जनाएको छ ।

आँखा शिविर किरण आँखा अस्पताल वीरगञ्जको सहकार्यमा संचालन गरिएको संस्थाकी लक्ष्मी खरेलले बताईन ।

Leave a review

This will close in 0 seconds