बारा । आर्थिक अभावका कारण लामो समयदेखि घरमा विद्युत् जडान गर्न नसकेका जीतपुरसिमरा उपमहानगरपालिका–१८ का ३८ दलित तथा अति विपन्न परिवारले अब नियमित विद्युत्j सेवा पाउने भएका छन्।
वडा कार्यालयले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सञ्चालन गरेको कार्यक्रममार्फत ती परिवारलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराएको हो। सोमबार आयोजित कार्यक्रममा वडाध्यक्ष चतुरबाबु वाग्लेले लाभग्राहीलाई मिटर, एमसीबी र आवश्यक केबल तार हस्तान्तरण गर्नुभयो।
वडा कार्यालयका अनुसार विद्युत् सुविधाबाट वञ्चित परिवारलाई लक्षित गरी प्राप्त निवेदनमध्ये पहिलो चरणमा ३८ परिवार छनोट गरिएको हो। नेपाल विद्युत् प्राधिकरण कलैया वितरण केन्द्रसँगको समन्वयमा मिटर उपलब्ध गराइएको र मंगलबारदेखि सम्बन्धित घरमा जडानको काम सुरु हुने जनाइएको छ।
वर्षौंदेखि विद्युत् जोड्न नसकेका परिवारका लागि मिटर पाएसँगै दैनिक जीवन सहज हुने अपेक्षा गरिएको छ। मिटर प्राप्त गरेकी उमरावती देवी पासवानले आर्थिक समस्याका कारण आफ्नै घरमा बिजुली बाल्न नसकेको अवस्थामा वडा कार्यालयको सहयोगले ठूलो राहत मिलेको बताउनुभयो।
अर्का लाभग्राही रमेश रामले पनि घरमा विद्युत् पुग्ने भएपछि खुसी व्यक्त गर्दै विपन्न परिवारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
वडाध्यक्ष वाग्लेले विद्युत् सुविधाबाट अझै वञ्चित रहेका दलित तथा अति विपन्न परिवारलाई समेत क्रमशः समेटिने बताउनुभयो। वडा कार्यालयमा निवेदन दिएका परिवारलाई प्राथमिकताका आधारमा आगामी चरणमा पनि निःशुल्क मिटर उपलब्ध गराउने उहाँको भनाइ छ।


