कलैयामा पालिका स्तरीय आर्थिक गणनाबारे कार्यक्रम

साझेदारी डेलि
125 पाठक संख्या

कलैया : बाराको कलैयामा आर्थिक गणनासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पालिका स्तरीय अन्तरक्रिया तथा गोष्ठी सम्पन्न भएको छ। जिल्ला आर्थिक गणना कार्यालय बाराको पहलमा शुक्रबार कलैया उपमहानगरपालिकाको सभाहलमा एक कार्यक्रमबीच सम्पन्न भएको हो।

“अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने नारासहित आयोजित कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाबीच छलफल गरिएको थियो। कार्यक्रमकी प्रमुख अतिथि उप-प्रमुख रौशन प्रवीणले तथ्यांकमा आधारित योजना निर्माणका लागि यस्ता कार्यक्रम उपयोगी हुने बताइन्।

जिल्ला आर्थिक गणना कार्यालय बाराका प्रमुख राजेश दासले आर्थिक गणनाको समग्र प्रक्रिया र यसको महत्वबारे जानकारी गराउँदै यसले आर्थिक गतिविधिको यथार्थ चित्र प्रस्तुत गर्ने उल्लेख गरे। उनले साना खुद्रा पसलदेखि ठूला व्यवसायसम्म सबैलाई समेटेर तथ्यांक संकलन गरिने बताए।

उनका अनुसार २०७५ सालको आर्थिक गणनामा बारामा १२ हजार ४४९ आर्थिक एकाइ सूचीकृत भएका थिए, जसमा ४ हजार ७३६ दर्ता र ७ हजार ७१३ अदर्ता व्यवसाय रहेका छन्। आगामी बैशाख २ गतेदेखि असार ७ गतेसम्म गणक तथा सुपरिवेक्षकहरू परिचालन भई स्थलगत रूपमा तथ्यांक संकलन गर्ने कार्यक्रम तय गरिएको छ।

कार्यक्रममा वडाका अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंह, शाखा प्रमुखहरू तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

Leave a review