काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी घाइते भएकाहरूको उद्धार गरी काठमाडौं र रसुवाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये बारा र वीरगञ्जका तीन जनासहित २१ जनाको रसुवा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर, वीरेन्द्र सैनिक अस्पताल छाउनी र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पनि बाढीमा परी घाइते भएकाहरूको उपचार भइरहेको छ।
राष्ट्रिय ट्रमा सेन्टरमा नुवाकोट विदुर–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछानेको उपचार भइरहेको छ। वीरेन्द्र सैनिक अस्पतालमा रसुवा गोसाइँकुण्डका दावा डोल्माको उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, सल्यान, जाजरकोट, बर्दिया, भक्तपुरलगायत जिल्लाका घाइतेहरूको उपचार भइरहेको छ। उपचाररत घाइतेमध्ये गोसाइँकुण्ड–७ का कामु नगरकोटीसँग तीन महिनाको नाबालक शिशुसमेत रहेको जनाइएको छ।
रसुवा अस्पतालमा उपचार भइरहेका घाइतेमध्ये वीरगञ्जका सागर सहनी तथा बाराका उपेश चौधरी र रोहन चौधरी रहेका छन्।उनीहरूसहित रसुवा अस्पतालमा २१ जना घाइतेको उपचार भइरहेको अस्पतालले जनाएको छ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य अझै जारी छ। उद्धारसँगै घाइतेहरूको अवस्था तथा प्रभावितको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।


