रसुवा बाढी पीडितका लागि जीतपुरसिमरा उपमहानगरको ११ लाख सहयोग

रञ्जन यादव
23 पाठक संख्या

बारा । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाले राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाको बिहीबार सम्पन्न ६९ औँ नगर कार्यपालिकाको बैठकले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

बाढी प्रभावितहरूको राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सहयोग पुग्ने गरी ११ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय सो बैठकले गरेको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।उपमहानगरले अप्रत्याशित बाढीका कारण प्रभावित भएका नागरिकहरूको राहत र प्रभावित क्षेत्रको पुनर्निर्माणमा सहयोग पु¥याउने उद्देश्यले आर्थिक सहयोग गर्ने निर्णय गरिएको जनाएको छ ।

यससँगै उपमहानगरका जनप्रतिनिधिहरूले व्यक्तिगत रूपमा पनि राहत कोषमा योगदान गर्ने भएका छन्। नगर प्रमुखले आफ्नो सेवा सुविधाबाट १० हजार रुपैयाँ, उपप्रमुखले ५ हजार रुपैयाँ तथा वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले जनही २ हजार रुपैयाँ सहयोग गर्ने निर्णय बैठकले गरेको छ। जनप्रतिनिधिबाट संकलन हुने रकम समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमै जम्मा गरिने बताइएको छ।

बैठकले उपमहानगरपालिकामा कार्यरत कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकहरूलाई समेत स्वेच्छिक रूपमा राहत कोषमा आर्थिक सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको छ।त्यसैगरी, रसुवा बाढी प्रभावित क्षेत्रमा कामको सिलसिलामा पुगेका वा तीर्थयात्राका लागि गएका जीतपुरसिमरा उपमहानगरवासीहरूको अवस्थाबारे यथार्थ विवरण संकलन गर्ने कार्य पनि अघि बढाइएको छ। यसका लागि उपमहानगरका सबै वडा कार्यालयमार्फत आवश्यक तथ्याङ्क संकलन गरिने भएको छ।

प्रभावित क्षेत्रमा रहेका वा सम्पर्कविहीन व्यक्तिसम्बन्धी सूचना दिन उपसचिव उमेश वाग्लेलाई ९८६०८१११११ नम्बरमा तथा नगर प्रहरी इन्चार्ज रविनकुमार खड्कालाई ९८५५०२९११० र ९८६६१२९९१६ नम्बरमा सम्पर्क गर्न उपमहानगरपालिकाले अनुरोध समेत गरेको छ।

Leave a review