बारा । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका बारा जिल्लाका २८ जनामध्ये हालसम्म तीन जना सम्पर्कमा आएका छन्।
सम्पर्कमा आउनेहरूमा बारा जिल्लाको कलैया उपमहानगरपालिका–२२ धोघा निवासी सत्यप्रकाश राम, सुवर्ण गाउँपालिका–३ निवासी शिक्षक रुपेश गुप्ता र जीतपुरसिमरा उपमहानगरपालिका–१२ निवासी नेपाली सेनामा कार्यरत रोहित कुमार साह रहेका छन्।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार सत्यप्रकाश राम घर फर्किसकेका छन् भने शिक्षक गुप्ता र नेपाली सेनाका जवान साह पनि परिवार तथा आफन्तको सम्पर्कमा आइसकेका छन्।
बाढीपछि बाराका विभिन्न स्थानीय तहका अझै २५ जना सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।


