सदस्यलाई व्यवसाय विस्तारका उपाय सिकाउँदै महिला साकोस

रञ्जन यादव
106 पाठक संख्या

सिमरा । व्यवसाय सञ्चालन गरिरहेका आफ्ना सदस्यलाई थप दक्ष बनाउने उद्देश्यले सिमरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले लघु व्यवसाय व्यवस्थापनसम्बन्धी तीनदिने तालिम सम्पन्न गरेको छ। तालिममा संस्थाका २९ जना व्यवसायिक सदस्य सहभागी भएका थिए।

संस्थाको सभाहलमा आयोजित तालिममा व्यवसाय सञ्चालनका आधारभूत पक्षदेखि व्यवसायलाई दीर्घकालीन रूपमा नाफामुखी बनाउने उपायसम्मका विषयमा सहभागीलाई व्यावहारिक जानकारी दिइएको थियो। तालिम नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र डिएसआइकेको प्राविधिक सहयोगमा सञ्चालन गरिएको संस्थाले जनाएको छ।

प्रशिक्षक भरतप्रसाद न्यौपाने र श्यामराज तिमल्सिनाले सहभागीलाई व्यवसायका लागि उपयुक्त क्षेत्र पहिचान, व्यवसाय योजना निर्माण, सुरुआती प्रक्रिया, लगानी तथा लागत व्यवस्थापनलगायत विषयमा प्रशिक्षण दिएका थिए। व्यवसायमा हुने आम्दानी र खर्चको व्यवस्थित अभिलेख राख्ने तरिका तथा बजार पहिचान र बजारीकरणका उपायबारे पनि अभ्याससहित जानकारी दिइएको थियो।

ग्राहकसँगको व्यवहार, व्यवसायमा आउन सक्ने सम्भावित जोखिम पहिचान तथा त्यसको व्यवस्थापन र बजारको मागअनुसार व्यवसाय विस्तार गर्ने रणनीतिबारे समेत सहभागीलाई प्रशिक्षण दिइएको थियो। तालिमले सञ्चालनमा रहेका साना व्यवसायलाई व्यवस्थित गर्दै आर्थिक व्यवस्थापन सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अध्यक्ष मुना खरेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागी २९ जनालाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाकी पूर्व नगर उपप्रमुख सरस्वती चौधरीसहित सहकारीका पदाधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो।

सहकारीले सदस्यको वित्तीय कारोबारमा मात्र केन्द्रित नभई उनीहरूलाई आयआर्जन र स्वरोजगारसँग जोड्ने उद्देश्यले क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। स्थानीय तहमा साना उद्यमको प्रवद्र्धन र सदस्यको आर्थिक आत्मनिर्भरता बढाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने संस्थाको भनाइ छ।

Leave a review