नेपाल रेडक्रस सोसाइटी रमपुर्वा शाखाका अध्यक्ष मोहन चौधरीको निधन

साझेदारी डेलि
170 पाठक संख्या

बारा । धिरेन्द्र पनुहर / नेपाल रेडक्रस सोसाइटी रमपुर्वा शाखाका अध्यक्ष मोहन चौधरीको ६३ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ। क्यान्सर रोगबाट पीडित चौधरीको निधनले परिवार, आफन्तजन, शुभचिन्तक तथा स्थानीय समुदाय शोकमा डुबेको छ।

स्वर्गीय चौधरी कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीका दाजु हुनुहुन्थ्यो। उहाँ लामो समयदेखि सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै आउनुभएको थियो। नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सेवा तथा विभिन्न सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका उहाँ स्थानीयस्तरमा समाजसेवीका रूपमा परिचित हुनुहुन्थ्यो।

सामाजिक सेवासँगै चौधरी खेलकुद क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो। उहाँ एक कुशल भलिबल खेलाडीका रूपमा परिचित हुनुहुन्थ्यो। खेलकुदप्रतिको लगाव र सामाजिक सेवामा पुर्‍याउनुभएको योगदानले उहाँलाई स्थानीय समुदायमा छुट्टै पहिचान दिलाएको थियो।

स्वर्गीय चौधरीका दुई छोरा र एक छोरी छन्। उहाँको निधनले परिवारले अभिभावक गुमाएको छ भने स्थानीय समाजले एक सक्रिय समाजसेवी तथा कुशल खेलाडी गुमाएको छ। उहाँको पार्थिव शरीरमा शुक्रबार अन्त्येष्टि गरिएको छ।

चौधरीको निधनप्रति स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।

Leave a review