सर्पदंश उपचारका लागि सिमरा नगर अस्पतालले पायो स्वीकृति

रञ्जन यादव
54 पाठक संख्या

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित जीतपुरसिमरा नगर अस्पतालमा सर्पदंशका बिरामीको उपचार हुने बाटो खुलेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अस्पताललाई सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि औपचारिक अनुमति दिएको हो।

महाशाखाले अस्पतालको स्थलगत निरीक्षण गरी सर्पदंश उपचारका लागि आवश्यक पूर्वाधार, जनशक्ति र उपचारसम्बन्धी मापदण्ड पूरा भएको निष्कर्ष निकालेपछि अनुमति प्रदान गरेको जनाएको छ। ‘सर्पदंश उपचार केन्द्र सञ्चालन सम्बन्धी मापदण्ड, २०७७’ अनुसार अस्पतालले २०८३ असोज ५ देखि २०८७ असोज ४ गतेसम्म उपचार केन्द्र सञ्चालन गर्न पाउनेछ।

जीतपुरसिमरा उपमहानगरपालिकाको पहलपछि महाशाखाले अस्पतालको अनुगमन गरेको थियो। अनुगमनबाट आवश्यक मापदण्ड पूरा भएको पाइएपछि महाशाखाका निर्देशक डा. अनुज भट्टचनबाट प्रमाणित अनुमति पत्र अस्पताललाई उपलब्ध गराइएको हो।

महाशाखाको जुनोटिक तथा अन्य सरुवा रोग नियन्त्रण शाखाका प्रमुख डा. अमृत पोखरेलका अनुसार सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अस्पतालको आवश्यक तयारी पूरा भएकाले अनुमति प्रक्रिया अघि बढाइएको हो। स्थानीयस्तरमै सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालका स्वास्थ्यकर्मीलाई सर्पदंश उपचारसम्बन्धी तालिममा समेत सहभागी गराइएको उनले बताए।

अब प्रदेश सरकारबाट एन्टिभेनमलगायत आवश्यक औषधि तथा सामग्री प्राप्त भएपछि अस्पतालबाट नियमित रूपमा सर्पदंश उपचार सेवा सञ्चालन गरिने पोखरेलले जानकारी दिए।

जीतपुरसिमरा क्षेत्रमा सर्पदंश उपचार केन्द्रको माग केही महिनायता थप चर्किएको थियो। सर्पदंशपछि समयमै उपचार नपाउँदा सुप्रिया दोङ र दियनशी राना मगरको मृत्यु भएपछि स्थानीयवासीले नगर अस्पतालमै उपचारको व्यवस्था गर्न माग गर्दै आएका थिए।

हाल सर्पदंशका बिरामीलाई उपचारका लागि वीरगञ्जलगायतका अस्पतालमा लैजानुपर्ने अवस्था रहेकाले नगर अस्पतालबाटै सेवा सुरु भएपछि स्थानीय बासिन्दालाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। सर्पदंशपछि उपचारमा हुने ढिलाइले बिरामीको अवस्था गम्भीर हुन सक्ने भएकाले स्थानीयस्तरमै उपचार सेवा उपलब्ध हुनु महत्वपूर्ण मानिएको छ।

Leave a review