बारामा सशस्त्र प्रहरीद्वारा ९ लाख १० हजार रुपैयाँका अवैध सामान बरामद, एक जना पक्राउ

साझेदारी डेलि
71 पाठक संख्या

बारा । सशस्त्र प्रहरी बलले बाराको सीमा क्षेत्रमा गरेको चेकजाँच तथा निगरानीका क्रममा भन्सार छली गरी ल्याइएका करिब ९ लाख १० हजार रुपैयाँ मूल्यका विभिन्न सामान बरामद गरेको छ। सोही क्रममा एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराअन्तर्गतका विभिन्न इकाइबाट खटिएका टोलीले सीमा क्षेत्रमा गरेको चेकजाँचका क्रममा हरियो तरकारी, जुत्ता–चप्पल, रेडिमेड कपडा, लत्ताकपडा, सुर्तीजन्य सामग्री, मोटरसाइकललगायतका सामान बरामद गरेका हुन्।

बीओपी कवहीगोठ, बीओपी बरैनिया र बीओपी गोलागञ्जबाट खटिएका सशस्त्र प्रहरीका टोलीले उक्त सामान बरामद गरेका हुन्। साथै, अवैध रूपमा ल्याइएका पटाकासमेत बरामद गरी आवश्यक प्रक्रिया पूरा गरेर नष्ट गरिएको छ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रम मणि अधिकारीले जानकारी दिए।

उनका अनुसार यसै क्रममा भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्लाको मोतिहारी क्षेत्रस्थित घोडासहन ग्रामपञ्चायत निवासी ३० वर्षीय सिकेन्द्र कुशवाहालाई नियन्त्रणमा लिइएको छ। उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको अधिकारीले बताए।

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, भन्सार छली तथा प्रतिबन्धित वस्तुको कारोबार नियन्त्रण गर्न निगरानी र चेकजाँचलाई तीव्रता दिँदै आएको जनाएको छ। साथै, सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि मातहतका इकाइहरूलाई थप सक्रिय बनाइएको छ।

Leave a review