शिवनगरमा बैंकिङ सुविधा विस्तार, एटीएमबाट सयको नोट पनि झिक्न मिल्ने

Subash Kumar Mishra
47 पाठक संख्या

रौतहट । रौतहटको शिवनगरमा नगद कारोबारका लागि आवश्यक पर्ने साना दरका नोट प्राप्त गर्न अब सहज हुने भएको छ। प्राइम कमर्सियल बैंकको शिवनगर शाखाले सय रुपैयाँसम्मका नोट निकाल्न मिल्ने एटीएम सेवा सञ्चालनमा ल्याएपछि स्थानीय बासिन्दा तथा व्यवसायीलाई दैनिक कारोबारमा सुविधा पुग्ने अपेक्षा गरिएको छ।

शुक्रबार आयोजित कार्यक्रममा शिवनगर मन्दिरका मुख्य पुजारी र बैंकको मधेश प्रदेश कार्यालयका प्रदेश प्रमुखले संयुक्त रूपमा एटीएम सेवाको उद्घाटन गरेका हुन्। शाखा प्रमुख अजय यादवका अनुसार शिवनगरमा पहिलोपटक एटीएम सेवा सुरु गरिएको हो।

बैंकका अनुसार उक्त एटीएमबाट एक हजार, पाँच सय र सय रुपैयाँका नोट निकाल्न सकिनेछ। विशेषगरी खुद्रा कारोबार गर्नुपर्ने व्यापारी, साना व्यवसायी तथा सर्वसाधारणलाई साना दरका नोटको व्यवस्थापनमा यसले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

स्थानीय क्षेत्रमा बैंकिङ पहुँच विस्तार गर्ने उद्देश्यले सेवा सुरु गरिएको बैंकले जनाएको छ। नगद आवश्यक पर्दा बैंकको काउन्टरमा मात्र निर्भर रहनुपर्ने अवस्थालाई कम गर्दै ग्राहकलाई सहज र छरितो सेवा उपलब्ध गराउने लक्ष्य रहेको शाखा प्रमुख यादवले जानकारी दिएका छन्।

एटीएम सेवा सञ्चालनमा आएसँगै शिवनगर र आसपासका बासिन्दाले स्थानीयस्तरमै नगद झिक्ने सुविधा पाउने भएका छन्। बैंकले आगामी दिनमा पनि आधुनिक वित्तीय सेवाको विस्तारलाई निरन्तरता दिने जनाएको छ।

Leave a review