थाकस कोल्हबी नगर सभापति रामनाथ चौधरीको ५३ वर्षको उमेरमा निधन

साझेदारी डेलि
39 पाठक संख्या

कोल्हबी । धीरेन्द्र पनुहर/ थारु कल्याणकारिणी सभा (थाकस) कोल्हबी नगर कार्यसमितिका सभापति तथा नेपाली कांग्रेस कोल्हबी नगरपालिका–१ का वडा सभापति रामनाथ चौधरीको ५३ वर्षको उमेरमा आइतबार असामयिक निधन भएको छ।

उहाँको निधनले थारु समुदाय, नेपाली कांग्रेस तथा स्थानीय क्षेत्रमा शोक छाएको छ। चौधरीको पार्थिव शरीरको आइतबार राति रौतहटस्थित बकैया खोलाको गर्जा घाटमा अन्त्येष्टि गरिएको हो।

अन्तिम संस्कारका क्रममा विभिन्न राजनीतिक दलका नेता, थारु अगुवा, सामाजिक व्यक्तित्व, आफन्त तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। दिवंगत चौधरीको पार्थिव शरीरमा थारु कल्याणकारिणी सभा बाराका कोषाध्यक्ष बासु प्रसाद चौधरी, थारु अगुवा भुवन प्रसाद चौधरी, सञ्जय कुमार चौधरीलगायतले थारु समुदायको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

त्यसैगरी नेपाली कांग्रेस सस्थापन समूह कोल्हबी नगर सभापति वसन्त चौधरी ,नेपाली कांग्रेस इतर समूह कोल्हबी नगर सभापति बिरेन्द्र प्रसाद चौधरी, कोल्हबी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरी, नेपाली कांग्रेसका पूर्व नगर सभापति वीरेन्द्र प्रसाद चौधरी, रवीन्द्र पनुहर तथा नेपाल विद्यार्थी संघ बारा जिल्ला सभापति समीर चौधरीलगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरूले पार्टीको झण्डा ओढाएर दिवंगत चौधरीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए।

अन्तिम श्रद्धाञ्जली अर्पण गर्न बारा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य गणेश धिमाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोल्हबी नगर उपसभापति जितन प्रसाद चौधरी, नेता जगदेव चौधरी, हरिओम रौनियार, थारु कल्याणकारिणी सभा कोल्हबी नगर समितिका कोषाध्यक्ष प्रेमनारायण चौधरीलगायत थाकसका पदाधिकारी, स्थानीय अगुवा, शुभेच्छुक तथा आफन्तजनहरूको उपस्थिति रहेको थियो।

चौधरी थारु समुदायका सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय रहनुका साथै नेपाली कांग्रेसको संगठनमा विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। उहाँको निधनले थारु समुदाय तथा राजनीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

स्वर्गीय चौधरीका एक छोरा र एक छोरी छन्। उहाँको निधनप्रति विभिन्न क्षेत्रका व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

Leave a review