खाजा खर्च बचाएर बाढीपीडितलाई विद्यार्थीको ९ हजार २५० सहयोग

रञ्जन यादव
18 पाठक संख्या

जीतपुर । प्राकृतिक विपद्मा परेका नागरिकको पीडामा साथ दिन जीतपुरसिमराका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरेर सहयोग गरेका छन्। जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलिया भवानीपुरस्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयका विद्यार्थीले रसुवा र नुवाकोटका बाढीपीडितका लागि ९ हजार २५० रुपैयाँ संकलन गरेका हुन्।

विद्यार्थीहरूले आफूले दैनिक खाजाका लागि छुट्याउने रकममध्ये केही बचत गर्दै राहत रकम जुटाएका थिए। उनीहरूको पहलमा शुक्रबार विद्यालय परिसरमा सहयोग संकलन कार्यक्रम सञ्चालन गरिएको थियो।

संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाइएको विद्यालयका प्रधानाध्यापक धनञ्जय गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार विपद्को समयमा पीडितप्रति मानवीय संवेदना र सहयोगको भावना विकास गराउने उद्देश्यले विद्यार्थीलाई अभियानमा सहभागी गराइएको हो।

प्रधानाध्यापक गौतमले विद्यार्थीहरूले आफ्नै खाजा खर्च कटाएर विपद्मा परेका नागरिकका लागि सहयोग गर्नु अनुकरणीय कार्य भएको बताउनुभयो। रकमको आकारभन्दा पनि विपद्को समयमा सहयोग गर्नुपर्छ भन्ने भावना महत्वपूर्ण रहेको उहाँको भनाइ छ।

विद्यार्थीहरूले बाढीका कारण घर, सम्पत्ति तथा दैनिक जीवनमा क्षति व्यहोरेका नागरिकको पीडामा आफ्नो तर्फबाट केही सहयोग पुर्‍याउने उद्देश्यले रकम संकलन गरेको बताएका छन्।

विद्यालयको यो पहलले विद्यार्थीमा सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सहयोगी संस्कार विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। सानै उमेरमा सामाजिक सेवाप्रति जागरुक बनाउने यस्ता अभियानले विपद्का बेला समुदायमा सहयोग र सहकार्यको संस्कार बलियो बनाउने विद्यालयको विश्वास छ।

Leave a review