बारामा मोटरसाइकलको ठक्करपछि विवाद, चक्कु प्रहारबाट एक युवक घाइते

साझेदारी डेलि
286 पाठक संख्या

बारा । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा मोटरसाइकलको ठक्करबाट बालिका घाइते भएपछि भएको विवादमा चक्कु प्रहार हुँदा एक युवक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार बिहान बरियारपुरस्थित गढीमाई मन्दिर नजिक बजार क्षेत्रमा मोटरसाइकलको ठक्करबाट २ वर्षीया बालिका अनुष्का कुमारी लहेरा घाइते भएकी थिइन्।

प्रहरीका अनुसार बरियारपुर बजारबाट बरियारपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०८–००१ प ०३१९ नम्बरको मोटरसाइकलले बाटोमा खेलिरहेकी बालिकालाई ठक्कर दिएको थियो। मोटरसाइकल १५ वर्षीय बालकले चलाएका थिए। ठक्करबाट बालिकाको दाहिने हातमा चोट लागेको थियो। उनलाई प्रादेशिक अस्पताल कलैयामा सामान्य उपचारपछि डिस्चार्ज गरी घर पठाइएको प्रहरीले जनाएको छ।

सोही घटनालाई लिएर विवाद हुँदा स्थानीय ३५ वर्षीय भीम लहेरा र मोटरसाइकल चालक मिलेर स्थानीय पहलाद साह लहेराका १९ वर्षीय छोरा सुरज साह लहेरामाथि चक्कु प्रहार गरेको बाराका प्रवक्ता मीन बहादुर घलेले जानकारी दिए ।

उनका अनुसार चक्कु प्रहारबाट सुरजको ढाडको पछाडिको भाग पिठ्युमा चोट लागेको छ। घाइते उनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको र अवस्था मध्यम रहेको छ ।

घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी बरियारपुरबाट प्रहरी नायब निरीक्षक कपिल अधिकारीको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा थप अनुसन्धानका लागि प्रहरी टोली खटिएको थियो।

चक्कु प्रहारमा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाराले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रवक्ता घलेले जानकारी दिएका छन् ।

Leave a review