दाइजोको कारण रौतहटमा आमाछोरीको हत्या

साझेदारी दैनिक
450 पाठक संख्या

करण कुमार मिश्र/

रौतहटमा दाइजोको निहुमा आमाछोरीको हत्या गरिएको छ । जिल्लाको मौलापुर नगरपालिका–४ बौधा पतौराका धिरेन्द्र साहको २४ बर्षिय श्रीमती कविता साह र निजको २ बर्षको छोरी आरोही साहको शुक्रवार राति परिवारजनका सदस्यहरुले निर्घात कुटपिट गरेर हत्या गरेको माइती पक्षले गम्भीर आरोप लगाएका छन ।

विगत तीन बर्षअघि माधवनारायण नगरपालिका ५ मिठुअवाका विजयशंकर साहले आफनो छोरीको विहे मौलापुर नगरपालिका ४ बौधा पतौरा गाउँका नागेन्द्र साहको छोरा धिरेन्द्र साहसंग भएको थियो ।

‘बिहेपछि दाइजोमा सुनको औठी र सिक्री दिन सकिएको थिएन । ज्वाइ धिरेन्द्रले धेरै पटक छोरीलाई यो विषयमा कुटपिट गरेको थियो,’ साहले भने, ‘आखिरमा दाइजोकै लागि छोरी र नातिनीको हत्या गरेर ज्वाइ फरार भएका छन ।’

मृतक महिलाको बुवा विजय शंकरका अनुसार विहान ३ बजेको समयमा छिमेकीले फोन गरेर भन्यो तिम्रो छोरीको हत्या भएको बताए । त्यसपछि प्रहरीलाई खवर गरेर यहाँ आएको उनले भने । दाइजोको लागि मानविय धर्मलाई समाप्त पार्दै छोरी र नातीनीको हत्यामा संलग्न जो कोहीलाई हदै सम्म कारवाही गर्नुपर्ने माग उनले स्थानीय प्रहरी प्रशासन समक्ष राखेका छन् ।

दाइजोको लोभीहरुद्धारा यसरी छोरी र नातिनीको हत्या गरेर घरबाट फरार रहेका अभियुक्तहरुलाई अविलम्ब प्रहरीले पक्राउ गरी कानुनी दायरमा ल्याई हदै सम्म कारवाही गर्नुपर्ने आवाज माइतीपक्षले राख्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विरबहादुर बुढा मगर घटना भएको स्वीकार्दै प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको तथा मृतकको श्रीमान र ससुराको खोजी कार्य जारी रहेको बताएका छन ।

Leave a review