बारा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले भौतिक पूर्वाधार विकासमन्त्री महम्मद समिरलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका छन्।
एसियाली विकास बैंक (एडीबी) को आयोजनामा फिलिपिन्सको मनिलामा सेप्टेम्बर १५ र १६ मा आयोजना हुने “तेस्रो जलवायु अनुकूलन लगानी योजना मञ्च (सिएआईपी -२०२६)” मा सहभागी हुन मुख्यमन्त्री यादव विदेश जाने भएपछि समिरलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेस प्रदेशले २०८३ भदौ २८ गते जारी गरेको पत्रअनुसार मुख्यमन्त्री यादव २०८३ भदौ २९ गतेदेखि फिलिपिन्स जानेछन्। उनी स्वदेश फर्किएर जिम्मेवारी सम्हालेसम्म मन्त्री समिरले कार्यवाहक मुख्यमन्त्रीका रूपमा प्रदेश सरकारको कार्यभार सम्हाल्नेछन्।
मधेस प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०८० को नियम १४ को उपनियम (३) बमोजिम समिरलाई कार्यवाहक मुख्यमन्त्री तोकिएको मुख्यमन्त्री यादवले पत्रमार्फत जानकारी गराएका छन्।
मुख्यमन्त्री यादवको विदेश भ्रमण तथा कार्यवाहक मुख्यमन्त्री तोकिएको विषयमा मधेस प्रदेशका प्रदेश प्रमुखलाईसमेत जानकारी गराइएको छ।


