जीतपुरसिमरा उपमहानगरपालिकाले आफनो अधिकार वडामा बिकेन्द्रित

रञ्जन यादव
320 पाठक संख्या

नगरबासीको काम छिटो छरितो गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले आफनो अधिकार वडा कार्यालयहरुमा बिकेन्द्रित गरेको छ ।

नगरप्रमुख राजन पौडेलको पहलमा सातौँ कार्यपालिका बैठकले चालु आर्थिक बर्ष २०८०।०८१ को वडा स्तरीय पुँजीगत योजनाहरु,ब्यवसाय दर्ता र उपभोक्ता समिति दर्ता सम्बन्धीत वडा कार्यालयमा नै गर्ने ब्यवस्था मिलाईएको छ । स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ७३ को उपदफा २ मा प्रमुख प्रशासकीय अधिकृतले आफनो अधिकार प्रत्यायोजन गर्न सकिने ब्यवस्था रहेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले उपभोक्ता समिति मार्फत सम्पन्न हुने २० लाख सम्मको वडा स्तरीय योजनाहरुको सम्झौता,कार्य आदेश स्थायी सेवामा कार्यरत वडा सचिबलाई दिएको बताउँनु भएको छ । जसमा वडामा कार्यरत सब ईन्जिनीयर र अमीनलाई अनिवार्य संलग्न गराउँनुपर्ने ब्यवस्था गरिएको छ ।

वडाभित्रका जैबिक तथा बाताबरणीय प्रभाव पर्ने र ठुलो उद्योग बाहेक साना ब्यवसायीहरुको ब्यवसाय दर्ता,नबिकरण,नामसारी र ठाउँसारी गर्ने काम वडाकार्यालयबाट नै अब हुने छ । त्यस्तै उपभोक्ता समितिबाट सम्पन्न गरिने योजनाहरुको सम्बन्धमा उपभोक्ता समितिको दर्ता र नबिकरण गर्ने कार्य वडा कार्यालयबाट नै गर्ने ब्यवस्था मिलाईएको प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले वडामा प्रत्यायोजन गरेको सम्पुर्ण अधिकार स्थायी सेवामा कार्यरत वडा सचिबले मात्र प्रयोग गर्न सक्ने ब्यवस्था गरेको छ । प्रमुख प्रशासकीय अधिकृत पुरीले २४ वटै वडा कार्यालहरुलाई प्रचलित कानुनको अधिनमा रही खर्च गर्न,आन्तरिक लेखा परिक्षण र अन्तिम लेखा परिक्षण समेत गराउँन निर्देशन दिनुभएको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले जनाएको छ ।

Leave a review

This will close in 0 seconds